• १९ असोज २०८१, शनिबार

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ३७ हजार मतपत्र छपाइ

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार छापिएकामध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार छन् ।

योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ ।

भोलिदेखि दोस्रो चरणको मतपत्र ढुवानी
समानुपातिक निर्वाचन प्रणालीतर्फ भोलि (बिहीबार)देखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु हुने आयोगले जनाएको छ । पहिलो चरणअन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल दुई करोड चार लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।