• १३ साउन २०८१, आइतबार

मोहना बगरमा पानीगौँथलीको बथान

blog

अविनाश चौधरी

धनगढी, कात्तिक २ गते  । कैलालीको मोहना नदी बगरमा हजारौँको सङ्ख्यामा पानीगौँथली चरा देखापरेका छन् । नदी बगरमा पहिल्यैदेखि बसोबास गर्दै आएको पानीगौँथली कैलारी गाउँपालिका–३ र ४ को क्षेत्रमा देखिएका हुन् । ठूलो सङ्ख्यामा रहेका ती चरा तीनवटा झुन्डमा देखापरेको हसुलियाका वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पानीगौँथली तीनवटा झुन्डमा ठूलो सङ्ख्यामा छन् ।” उहाँले भन्नुभयो, “ती चरा दुई वडास्थित नदी बगरमा कहिले यता, कहिले उता गइरहेका छन् ।” चौधरीका अनुसार अहिले उनीहरूको उडान र बसोबास क्षेत्र वडा नम्बर ३ को निमुवाबोझी र ४ को भितरिया आसपासको मोहना नदी बगर बनेको छ । गत वर्ष सोही ठाउँमा तीन हजार ५६४ वटा पानीगौँथली देखिएका थिए । यसैगरी दुई वर्ष अगाडि त्यसै स्थानमा १० हजार ५५३ को सङ्ख्यामा पानीगौंथली अभिलेख गरिएको थियो । नेपालको अरू ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानीगौँथली अभिलेख भएका छैनन् ।  सन् १९९० अघि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यी चरा देखिएका थिए । त्यस्तै सन् २०१२ मा चितवनमा तीन हजार ४६७ पानीगौँथली चरा फेला परेका चराको क्षेत्रमा काम गर्ने संस्था पन्छी संरक्षण सङ्घ (बीसीएन)को तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी सन् २०१५ मा कोसी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । त्यस्तै चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानीगौँथली चराको अभिलेख गर्नुभएको थियो । नेपालमा पहिलो पटक काठमाडौँ उपत्यकामा पानीगौँथली फेला परेका थिए । १९औँ शताब्दीमा हड्सन नामक व्यक्तिले काठमाडौँमा पानीगौँथलीको अभिलेख गर्नुभएको बताइन्छ । मोहना नदीमा फेला परेको पानीगौँथली नेपालमा हालसम्म भेटिएकामध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको पाइएको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानीगौँथली रेकर्ड गरिएको छैन ।” उहाँले भन्नुभयो, “यो वर्ष केही महिना अगाडि कम सङ्ख्यामा थिए । अहिले फेरि धेरै भइसकेका छन् ।”

सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदीमा पाइन्छन् । यसैगरी नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा पाइने गरेको बताइएको छ । त्यस्तै कोसी नदी, दाङको राप्तीमा पनि पानीगौँथली पाइने गरेका छन् । नेपालमा पानीगौँथलीको सङ्ख्या तीन हजारदेखि पाँच हजारसम्म रहेको मानिन्छ । त्यसको एक प्रतिशत पानीगौँथली नारायणी, कर्णाली र कोसी नदीको ‘बेसिन’ मा पाइने गरेको डङ्गौरा बताउनुहुन्छ । “कैलालीमा पछिल्लो समय अभिलेख गरिएको सङ्ख्या नेपालकै सङ्ख्याभन्दा बढी हो,” उहाँले भन्नुभयो ।  

बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानीगौँथलीलाई चुनौती थपिँदै गएको बताइन्छ । यस्तै चोरीसिकार, ब्रिडिङका बेला मानवीय हस्तक्षेपलगायतका कारणले यो चरा प्रजाति लोपको खतरा नजिक पुगिरहेको छ । पानीगौँथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयामा पाइन्छन् । पानीगौँथली नेपालमा सङ्कटको नजिक पुगेको पन्छी संरक्षण सङ्घले जनाएको छ । यो चरा नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, मलेसिया, म्यान्मार, ओमान, पाकिस्तान, सिङ्गापुर, श्रीलङ्का, युनाइटेड अरब इमिरेट्स, भियतनामलगायत २० देशमा पाइन्छन् ।