• १६ भदौ २०८१, आइतबार

दुई उम्मेदवारबीच दोस्रो पटक प्रतिस्पर्धा

blog

कावासोती समाचारदाता

कावासोती, कात्तिक २ गते । पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनका लागि यतिखेर चुनावी सरगर्मी बढ्न थालेको छ। केही पुरानै र केही नयाँ अनुहार मत माग्दै मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन्।

यहाँ दुई उम्मेदवारबीच दोस्रो पटक प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस (सत्ता गठबन्धन)बाट विष्णु कार्की र नेकपा (एमाले)बाट तिलबहादुर (तिलक) महतबीच मुख्य प्रतिस्पर्धा हुँदै । जिल्लामा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन्। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजेता एमालेका तिलबहादुर महत र कांग्रेसका कार्की नै पुनः उम्मेदवार बन्नुभएको हो। उहाँहरूबीच कडा प्रतिस्पर्धा हुने भनाइ मतदाताको छ। गत २०७४ सालको आमनिर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका महतले कांग्रेसका कार्कीलाई एक हजार ३३३ को मतान्तरले पराजित गर्नुभएको थियो। 

२०७४ सालको सहयात्री दल नेकपा (माओवादी केन्द्र) र आफ्नै पार्टी एमालेबाट फुटेर नयाँ गठन भएको नेकपा (एकीकृत समाजवादी)सहित नेपाली कांग्रेसको गठबन्धन बनेको हुँदा यो निर्वाचनमा भने एमाले उम्मेदवार महतलाई चुनाव जित्न त्यति सजिलो छैन। 

त्यसैगरी क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फ दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही स्वतन्त्र उम्मेदवारले पनि एक्लाएक्लै उम्मेदवारी दिएका छन्।