• ११ असोज २०८१, शुक्रबार

स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन

blog

इनरुवा समाचारदाता

इनरुवा, कात्तिक २ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ को नरसिंह स्वास्थ्य चौकीमा पाँच वर्षअघि निर्माण गरिएको प्रसूति गृह बल्ल सञ्चालन भएको छ। निर्माण सम्पन्न भए पनि सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेको गुनासोलाई ध्यानमा राखेर उद्घाटन गरिएको हो। 

नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृह सञ्चालन भएपछि गर्भवती महिलालाई गाउँमै सहज प्रसूति गराउन पाउने भएको स्थानीय मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो। 

नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धित हक प्रदान गरेकाले त्यसको कार्यान्वयन गर्नका लागि र उपयोगविहीन रहेको प्रसूति गृहलाई सञ्चालन गर्ने गरी गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादले उद्घाटन गर्नुभएको हो। मातृत्व र प्रजनन स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु राज्यको दायित्व भएकाले प्रसूति गृह सञ्चालन गरिएको आजादले बताउनुभयो। 

गाउँगाउँमा प्रसूति गृह नहुँदा महिलाले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम रहेकोमा अब प्रसूति गृहसँगै महिलालाई सहज र सुरक्षित सुत्केरी गराउन पाइनेभएको छ। 

कार्यक्रममा नरसिंह स्वास्थ्य चौकीका इन्चार्ज रामाशङ्कर साहले प्रसूति गृह सञ्चालनमा आएपछि महिलालाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउनुभयो्। उहाँले अहिले प्रसूति गृह सञ्चालनमा आएकाले गर्भवतीको अवस्था हेरेर सेवा दिने र जटिल खालका भए अन्यत्र पठाउने बताउनुभयो। पाँच वर्षअघि नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सीडीपी)को लागतमा प्रसूति गृह निर्माण भएको थियो।