• १६ भदौ २०८१, आइतबार

महापुरुषको प्रचार

blog

काठमाडौँ, कत्तिक २ गते । कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पूर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीलाई चलचित्रका बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मीलगायतले भ्रमण गर्नुभएको थियो । 

कोरोनाको महामारीपश्चात् दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया अभिनेता हरिवंश आचार्यले दिनुभयो । “मोफसलका दर्शकबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढीभन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले सपरिवारलाई निम्तो गरेका छौँ,” अभिनेता आचार्यले भन्नुभयो । 

चलचित्रमा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर चलचित्र तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । 

षट्कोण आर्टस् प्रालिको ब्यानारमा निर्मित चलचित्रको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ भने निर्माता दिपेश खत्री रहनुभएको छ ।