• १३ साउन २०८१, आइतबार

महिला श्रमिकको शिल्पकला प्रदर्शन

blog

काठमाडाैँ, कात्तिक २ गते । दक्षिण एसियाली मुलुकका महिला गृह श्रमिकहरूको शिल्पकलाका तस्बिरहरूको प्रदर्शनी मङ्गलबार सुरु भएको छ । 

सन् २००० मा राजधानीमा आयोजित दक्षिण एसियाली मुलुकका श्रमिकहरूको भेलाले काठमाडौँ घोषणापत्र जारी गर्दै श्रमिकको साझा सङ्गठन ‘होमनेट साउथ एसिया’ (एचएनएसए) स्थापना गरिएको २२औँ वर्षका अवसरमा श्रमिकका गतिविधि समेटिएका तस्बिरहरूको प्रदर्शनी आयोजना गरिएको हो । 

होमनेट साउथ एसियाद्वारा राजधानीमा आयोजित तीनदिने एसियाली गृह श्रमिकहरूको भेलाको अवसर पारेर दक्षिण एसियाली महिला गृह श्रमिकको कामलाई तस्बिरमा कैद गरी प्रदर्शनी सुरु गरिएको हो । प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

होमनेट साउथ एसियाका अध्यक्ष रेनेना झावुआलाले महिलाले घरपरिवारलाई समय दिँदै परम्परागत रूपमा चलिआएको र नयाँ काम सिकेर गरेको कामले ठूलो आर्थिक टेवा पु¥याउँदै आएको छ भन्नुभयो । तर त्यसको मूल्याङ्कन परिवार र राष्ट्रले नगर्नु दुःखको कुरा भएको उहाँको भनाइ थियो । 

प्रदर्शनीमा मखमल र जुटका जुत्ता, पुतली, साबुन, सिलाइ–बुनाइ र ऊनका विभिन्न सामग्री, चोयाका सामान, जडीबुटी, अचार, टिफिनलगायत विभिन्न परिकार बिक्री गरी परिवारलाई आर्थिक सहयोग गर्ने महिलाको सीप र मेहनत झल्कने तस्बिरहरू राखिएको छ । 

प्रदर्शनीमा नेपाल, भुटान, भारत, पाकिस्तान, श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकका महिला श्रमिकले घरमै विभिन्न सीपमूलक काम गरी आयआर्जन गरेका तस्बिरहरू पनि समावेश छन् ।  

अभियन्ता चाँदनी जोशीले होमनेट साउथ एसियामा १२ लाख गृह श्रमिक आबद्ध रहेका र तिनमा ९५ प्रतिशत महिला श्रमिक छन् भन्नुभयो ।