• १३ साउन २०८१, आइतबार

मन्थली पर्यटकले भरिभराउ

blog

रामेछाप समाचारदाता

रामेछाप, कात्तिक २ गते । रामेछाप सदरमुकाम मन्थलीबाट सोलुखुम्बु जिल्लाको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको छ । सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि नेपाल आएका पर्यटकलाई सीता, तारा र समिट एयरले उडान सेवा प्रदान गरिरहेको छ । पर्यटकको आगमनसँगै मन्थलीस्थित सानादेखि ठूला होटलहरू विदेशी पर्यटकले भरिभराउ छन् । 

सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट घुम्न आएका पर्यटकलाई नेपाल सरकारले रामेछापको मन्थली विमानस्थलबाट मौसमी उडानमार्फत तेन्जिङ हिलारी विमानस्थल लैजाने व्यवस्था गरेको छ । पर्यटकहरू काठमाडौँबाट गाडीमार्फत मन्थली आउने गरेका छन् । 

मन्थली रामेछाप विमानस्थलबाट अक्टोबर १ तारिखदेखि सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल उडान भइरहेको रामेछाप नागरिक उड्डयन प्राधिकरण ट्राफिक कन्ट्रोलर केदारप्रसाद सत्यालले बताउनुभयो । “अहिले अक्टोबर र नोभेम्बरका लागि सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान गरिरहेको छ । यी तीनवटा एयरले दैनिक चार सय पर्यटकलाई लुक्ला पु-याउने लक्ष्यका साथ उडान भरिहरेका छन्,” उहाँले भन्नुभयो । 

नेपाल सरकारले रामेछापको मन्थली विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला उडान भर्ने व्यवस्थाअनुसार आफूहरूले पर्यटकहरूलाई लुक्ला पु¥याइरहेको तारा एयरका स्टेसन इन्चार्ज प्रवीण सुवेदीले बताउनुभयो । 

पर्यटन व्यवसायी बाबुराम गुरुङले पर्यटन प्रवद्र्धनको हिसाबमा मन्थली पहिलेभन्दा राम्रो विकास भइरहेको बताउनुभयो । “पर्यटकका लागि आवश्यक राम्रा होटेल तथा लजहरू बन्ने क्रममा छन् । दुई/चार सय पर्यटक व्यवस्थापनका लागि खासै समस्या छैन,” उहाँले भन्नुभयो । पर्यटकहरू घुम्न रुचाउने तामाकोसी किनार नजिकै रहेकाले प्रतिकूल मौसम उडान अवतरण बन्द हुँदा पनि समस्या नरहेको उहाँले बताउनुभयो । 

मन्थलीमा पर्यटन विकासका लागि सरसफाइ, जिल्लामा रहेका ऐतिहासिक धार्मिक मठ मन्दिर तथा पर्यटकीय क्षेत्रहरूका बारेमा जानकारीमूलक बोर्डहरू राख्नुपर्ने, प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा ध्यान दिनुपर्ने गुरुङको सुझाव छ । प्रतिकूल मौसममा उडान नहुने समयमा लुक्ला पुग्न नसकेका विदेशी पर्यटकलाई एयरलाइन्सहरूले मन्थलीदेखि सिन्धुलीको मूलकोटसम्मका होटेल र टेन्टमा बसोबासको व्यवस्था गर्ने गरेका छन् । 

मन्थली आएका पर्यटकको रुचिअनुसार बस्ने खाने राम्रो व्यवस्थापन भएको होटेल तथा लज सञ्चालन हुने चरणमा रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव नवराज ढुङ्गेलले बताउनुभयो । “राम्रा होटेल तथा रिसोर्ट खुल्ने क्रम जारी छ, विभिन्न जातजातिको संस्कृति झल्कने कार्यक्रम देखाउँदै पर्यटकलाई मनोरञ्जन दिन सकिन्छ,” उहाँले भन्नुभयो ।