• १९ असोज २०८१, शनिबार

सयपत्रीको बीउमा विदेशकै भर

blog

चितवन समाचारदाता

चितवन, कात्तिक २ गते । सयपत्री फूलको माग वृद्धि भए पनि लागत खर्च कम गर्न नसक्दा उपभोक्ताले सस्तोमा माला पाउन सकेका छैनन् । व्यावसायिक रूपमा सयपत्रीको फूलखेती गर्नेहरूले भारत, थाइल्यान्डलगायतका देशबाट बीउ ल्याउने गरेका छन् । फूलको बीउ नेपालमा नै उत्पादन गर्न सकेमा सस्तोमा खरिद गरेर लगाउँदा उपभोक्ताले सुलभ मूल्यमा माला फूल पाउने व्यवसायीको भनाइ छ । 

फ्लोरिकल्चर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठका अनुसार अहिले पनि सयपत्री रोप्नका लागि बीउ भारतलगायत अन्य देशबाट ल्याउनुपर्ने बाध्यता छ ।  

एक किलोग्राम सयपत्री फूलको बीउका लागि २० हजार रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । 

व्यवसायीका अनुसार एक किलोग्राम बीउबाट १५ देखि २० हजार बिरुवा निस्कने गर्दछन् । नेपालमा माग हुने कलकत्ते सयपत्री हो । यसको आकार मध्यम हुने भएकाले नेपालमा माग धेरै भएको व्यवसायीले बताएका छन् । 

फूलमा आत्मनिर्भर बन्दै चितवन

यस वर्षको तिहारको फूलमा चितवन आत्मनिर्भर अवस्थानजिक पुगेको  छ । फूलखेतीमा लागेका किसानहरूका अनुसार चितवनमा यस वर्षको तिहारका लागि चार करोड रुपियाँ बराबरको फूल उत्पादन हुने देखिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष अमर घलेका अनुसार यस वर्षको तिहारमा यहाँ उत्पादन हुने फूलले ८० प्रतिशतसम्म माग धान्ने छ ।  चितवनमा करिब एक सय जना किसानले फूलखेती गरेका छन् । 

मौसमी खेती गर्ने र सधैँ यसै क्षेत्रमा लाग्नेहरू फूलखेतीमा रहेको उहाँले बताउनुभयो । चितवनमा झन्डै ७ लाख फूलको मालाको माग हुने र यसको ८० प्रतिशत जिल्लाले पु¥याउने सक्ने क्षमता भएको घलेले बताउनुभयो ।