• १९ असोज २०८१, शनिबार

पहिरोले बस्ती नै विस्थापित

blog

पहिरोले विस्थापित बनेको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को बालैगाउँ।

हरि ऐडी 

मुगु, कार्तिक १ गते। असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायानाथ रारा नगरपालिकाका केही बस्ती विस्थापित भएका छन्। पहिरोले बस्तीका अधिकांश घर पुरिएका छन् भने बाँकी घरसमेत जोखिमका कारण बस्न नसक्ने अवस्थामा छन्।

बाढी पहिरोले छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को कोटिला गाउँका २६ घरधुरी, बालैगाउँका १४ घरधुरी र वडा नम्बर ७ को धुइरका ३५ घरधुरी विस्थापित  भएको  छायानाथ रारा नगरपालिकाको कार्यालयले जानकारी दिएको छ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का कृष्णबहादुर कुलाल बस्ती जोखिममा परेपछि एक घण्टा टाढाको खाडचौरमा पाली टाँगेर ओत लागेको बताउनुभयो। त्यस्तै छायानाथ रारा वडा नम्बर ७ का प्रेमलाल रावलले बाढी पहिरोका कारण घरभित्रका खाद्यान्न र लत्ताकपडा समेत जोगाउन नसकेको बताउनुभयो। खाद्यान्न र लत्ताकपडासमेत पुरिँदा बालबच्चादेखि ज्येष्ठ नागरिकलाई समस्या भएको छ।

विस्थापितले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ। ‘नेपाल  रेडक्रस सोसाइटीले राहत वितरण गर्ने गरेको सुनेको थिएँ, त्यो पनि अहिलेसम्म पाइएको छैन’, उहाँले भन्नुभयो। यता छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले राहतका लागि नगरका १४ वडाका अध्यक्षसँग सम्पर्क गरेर आवश्यक तथ्याङ्क संकलन र राहतका लागि सक्रियता जनाउन पहल गरेको बताउनुभयो।

जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले भन्नुभयो, ‘विस्थापित घरधुरी अहिले सामान्य प्लास्टिकमा ओत लागेर बसेका छन्। सम्बन्धित निकायले उनीहरूको बसोबास र राहतको व्यवस्थापन गरिदिनुपर्छ।’

पहिरोले विस्थापित बनेको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ को बालैगाउँ।