मानिस जन्मेपछि निश्चित रूपमा ढिलो चाँडो मृत्युवरण गर्नै पर्छ। यो प्राकृतिक नियम नै हो। मानिसले आफ्नो मुलुक, समाज र नागरिकका लागि योगदान पु-याउने, गुण लगाउने महत्वपूर्ण कार्य गरेको छ भने उसैको जीवनलाई सफल मान्न सकिन्छ। त्यस्ता व्यक्तित्व चिरकालपर्यन्त स्मरणयोग्य हुन्छन्। २०७९ साल असोज ३० गते आइतबार निधन हुनुभएका वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी त्यस्तै मूर्धन्य व्यक्तिको कोटीमा पर्नुहुन्छ। उहाँको निधनले राष्ट्रले युगपुरुष गुमाएको छ।
एक सय तीन वर्षअघि पाटनमा जन्मिनु भएका जोशीले केही दिन अस्पतालमा भर्ना भएर असोज ३० गते बिहान देहत्याग गर्नुभयो। उहाँको निधन सम्पूर्ण नेपालीका निम्ति दुःखद हो नै, उहाँको खोज अन्वेषणको स्वप्रवृत्तिले मानव समुदायमै निकै दुःखदायी विषय बनेको छ। बहुमुखी प्रतिभाको धनी जोशी नेपाली वाङ्मय र लोकसंस्कृतिलाई समृद्ध बनाउन दशकौंदेखि अथक एकलव्य हुनुभयो। उपत्यकाको नेवार समुदायमा जन्मेर देशभर पुगी खोज अन्वेषण गर्नुभएका जोशी सतपुरुषका रूपमा सुपरिचित हुनुभयो। उहाँकै प्रयासस्वरूप नेपाली अर्थात् खस भाषाको उद्गमस्थल कर्णाली प्रदेशमा दशकौँ अघि गएर लामो अध्ययन अनुसन्धानपश्चात् कर्णाली लोकसंस्कृति नामक पुस्तक पाँच भागमा प्रकाशित हुन सम्भव भयो। यो पुस्तकलाई नेपाली भाषा, संस्कृति तथा कलाका दृष्टिकोणबाट निकै अब्बल मानिन्छ। यो पुस्तक २०२७ सालको मदन पुरस्कार पनि प्राप्त गर्न सफल भएको थियो।
राणाकालीन अवधिमै तथ्याङ्कशास्त्रीका रूपमा सार्वजनिक सेवा प्रारम्भ गर्नुभएका जोशी नेपाली लोकभाका सङ्ग्रहमा सक्रिय रहनुभयो। सादा जीवन र निरन्तर प्रयास उहाँको खास विशेषता रह्यो। नेपाली मुद्राको खोज अन्वेषणमा उहाँको योगदान महŒवपूर्ण छ। जोशीले नेपाली भाषा, कला र साहित्यलाई नेपालबाहिर समेत पु¥याउनुभयो। रेडियो बेइजिङमा नेपाल भाषा विज्ञका रूपमा काम गर्नुभयो। त्यसैक्रममा कलाकार अरनिको सम्बन्धमा गरिएका उहाँका खोज स्मरणीय छन्। पुरातŒव विभागको माथिल्लो पद सम्हालेर उहाँले महŒवपूर्ण योगदानसमेत पु¥याउनुभएको थियो। नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव समेत भएर सेवा गर्नुभएका जोशीको कार्यकालमा प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्यका विधामा निकै प्रशंसनीय कार्य गरेको थियो। साहित्यकार तथा नाटककारका रूपमा पनि उहाँका योगदान दीर्घकालसम्म स्मरणीय रहने छन्। अनेक विधाका मूर्धन्य विद्वान् जोशीका अनुसन्धनात्मक कृतिका अतिरिक्त कला, साहित्य, नाटक, कवितासमेत गरी ७० भन्दा बढी पुस्तक प्रकाशित भएका छन्।
न्युजिल्यान्ड पुग्ने पहिलो नेपालीका रूपमा चर्चित जोशीको सरल, स्वस्थ तथा सक्रिय जीवनशैली आधुनिक पुस्ताका लागि प्रेरणाको स्रोत हो। समकालीन नेपालमा १०३ वर्षको उमेरसम्म समृद्ध तथा स्वस्थ तरिकाले जीवित रहनु सामान्य विषय होइन। यसका निम्ति नियमित हिँडडुल, शारीरिक अभ्यास, स्वच्छ विचार, आहारविहार तथा आरोग्यको महŒवपूर्ण भूमिका रहन्छ। केही समयअघिसम्म पनि उपत्यकाका अधिकांश कार्यक्रममा पैदलै पुग्ने उहाँको दिनचर्या विशेष थियो। जीवन जीउने यो सरल कला जोशीबाट सिक्न सकिन्छ। जीवनपर्यन्त शारीरिक तथा मानसिक दुवै तवरबाट निकै सशक्त जोशीलाई जिउँदो इतिहासका रूपमा समेत लिन सकिन्छ। मुलुकका अधिकांश पुरस्कार तथा सम्मानबाट सम्मानित जोशी नेपाली नोबेल पुरस्कार अर्थात् मदन पुरस्कार तीन पटक पाउने एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो। एक समय यस्तो पनि थियो जोशीका कारण पुरस्कार तथा सम्मानको गरिमा नै अभिवृद्धि हुन्थ्यो।
वाङ्मय शताब्दीपुरुष जोशीको निधन नेपाल र नेपालीका लागि वास्तवमै अपूरणीय क्षति हो। एक युगको अन्त्य हो। त्यसको कुनै पूरण र भरण सम्भव नै छैन। इतिहासको एउटा महत्वपूर्ण कालखण्डको पूर्णविराम हो। भावी पुस्ताका निम्ति उहाँका योगदान सुरक्षित र समृद्ध बनाउने सबै नेपालीको दायित्व हो। सरकारी तथा जनस्तरबाट उहाँका कृति तथा चिन्तनलाई दिगो तवरले स्मरणीय बनाउने कार्यमा हातेमालो गरिनु पर्छ। यसका निम्ति सरकारले राम्रो गृहकार्य गरेर नीति तर्जुमा गर्न सके देशका लागि लामो समय महत्वपूर्ण योगदान गर्ने विद्वान्को सम्मानमा कमी आउने छैन। उहाँको पार्थिक शरीर चिकित्सक अन्वेषणका निम्ति उहाँकै इच्छाअनुसार हस्तान्तरण गरिएको छ। योसमेत उहाँको नवीन सोचकै प्रतिविम्ब हो। शताब्दीपुरुष जोशीलाई हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।