• ११ असोज २०८१, शुक्रबार

गणतन्त्रवादीको जित आवश्यक छ : नेता सिटौला

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, असोज ३० गते । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयन हुन नसक्दा अहिले पनि परिवर्तनमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ । 

झापा –३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनु भएका सिटौलाले संविधान पक्षधरहरूले गम्भीर रूपमा नसोचेको अवस्थामा गणतन्त्रमाथि नै खतरा हुन सक्ने उहाँले बताउनुभयो । 

आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन अभियानमा लाग्नुभएका सिटौलाले नेकपा (एमाले) ले झापामा राजाबादीहरुलाई साथ दिनु गलत भएको टिप्पणी गर्नुभयो । सिटौलाले संविधान पक्षधरहरू विजय बन्नु पर्ने बताउँदै संविधान विरोधीलाई जनताले तह लगाउने उहाँको भनाइ छ । गणतन्त्र ल्याउन र सशस्त्र युद्ध गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले खेलेको भूमिका सबैलाई थाहा छ, उहाँले भन्नुभयो ।

राजनीतिक दलहरूकै गतिविधिका कारण गणतन्त्रप्रति वितृष्णा उत्पन्न हुन थालेको भन्दै सिटौलाले यसमा गम्भीर बन्न पनि आग्रह गर्नुभयो । संविधानको रक्षा र विकास निर्माण आफूहरूको प्राथमिकता रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेता सिटौलाको निर्वाचन क्षेत्रमा उहाँसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । सिटौलालाई गठबन्धनका दलहरूको समर्थन छ भने लिङ्देनलाई एमालेले समर्थन गरेको छ ।