• ११ असोज २०८१, शुक्रबार

विराटनगरभित्रको नहर सफाइ

blog

रङ्गेली समाचारदाता

विराटनगर, असोज ३० गते । विराटनगर महानगरपालिकाले महानगर क्षेत्र पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको सफाइ सुरु गरेको छ। नहरलाई सफा पारेर छठपर्वका भक्तजनलाई सफा पानीको प्रबन्ध मिलाउन महानगरले नहर सफाइ सुरु गरेको हो।  

महानगरले सुनसरी–मोरङ सिँचाइ आयोजनासँग सहकार्यमै नहरको सफाइ थालेको हो। तिहारअगाडि नै महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो। हरेक दिन दुईवटा जेसीबी परिचालन गरेर समयमै नहर सफाइ गरिने भएको हो। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले समयमै नहर सफाइ गर्दा पानी सङ्लिने भएकोले फोहोर पानीमा छठका व्रतालु पस्न नपरोस् भन्ने लक्ष्य राखिएको बताउनुभयो। लामो समयदेखि नहर सफा भएको थिएन। महानगर प्रमुख कोइरालाको पहलमा नहर सफाइलाई तीव्रता दिइएको छ। 

छठपर्वमा भक्तजनहरूले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन्। सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ। हरेक शुक्रबार महानगर सफाइ विशेष अभियान पनि सञ्चालन भइरहेको छ।