• १६ भदौ २०८१, आइतबार

बाँदर नियन्त्रण गरिदिन उम्मेदवारहरूसँग मतदाताको माग

blog

चन्द्रकोट ७ का मतदाताका गुनासो सुन्दै उम्मेदवारद्वय भण्डारी र बराल । तस्बिर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असोज २९ गते । चन्द्रकोट गाउँपालिकाका वडा नम्बर ७ का उमाकान्त भण्डारीले आफूहरूले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिएपछि बाँदर नियन्त्रण गरिदिन उम्मेदवारहरूसँग माग गर्नुभएको छ ।

घरदैलो कार्यक्रममा पुग्नुभएका गुल्मी क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवार चन्द्र भण्डारी र प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बराललाईसँग उहाँहरूले बाँदर नियन्त्रण गरिदिनका लागि माग गर्नुभएको हो ।

आफूहरूले लगाएको खेतीपाती घरमा ल्याउन नपाएको र घरमा पनि आएर सताउने गरेको समस्याले आफूहरूलाई हैरान बनाएको उहाँको भनाइ छ ।  बाँदरलाई नियन्त्रण गरिदिनका लागि उहाँले उम्मेदवारहरूलाई आग्रह गर्नुभएको हो ।

यस्तै, सोही स्थानका अन्य स्थानीयले बाँदरले अन्नबाली पनि सखाप पारिदिएको र घरमै पनि ढोका लगाएर हिँड्नुपर्ने बाध्यता बनाएकाले बाँदर नियन्त्रण गरिदिन आग्रह गर्नुभएको हो । 

यस्तै, सडक, खानेपानी, सिँचाइजस्ता क्षेत्रहरूमा काम गर्न जोड दिइएको छ ।

उम्मेदवार भण्डारी र बरालले आफूहरूले बाँदर नियन्त्रण गर्नका लागि नीति निर्माण गर्नका लागि पहल गर्ने बताउनुभएको छ । बाँदरको समस्या देशव्यापी भएकाले यसलाई समाधान गर्नका लागि आफूहरूले नीति निर्माण गर्ने र बाँदरको समस्यालाई समाधान गर्ने बताउनुभएको हो ।

आफूले प्रदेशमा नेतृत्व गर्दा गुल्मीको समग्र विकासमा प्राथमिकता दिएको भन्दै प्रदेश १ का उम्मेदवार बरालले बाँकी रहेका अधुरा कार्यहरूलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिनिधि सभाका उम्मेदवार भण्डारीले गुल्मीलाई नमुना जिल्ला बनाउने गरी आफूले काम गर्ने बताउनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रदीप ज्ञवाली र गठबन्धनको तर्फबाट चन्द्र भण्डारीबीच प्रतिष्पर्धा हुँदै छ ।