• १३ साउन २०८१, आइतबार

पाँच गाउँमा २४ घर भत्किएपछि बास बस्न समस्या

blog

बाढीपहिरोले भत्किएका बाजुराका दलित परिवारका घर । तस्बिर - शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज २९ गते । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगनाथ गाउँपालिका वडा नं –२ को चार गाउँका २४ घर पूर्णरुपमा भत्किएका छन् ।

जगनाथ गाउँपालिका वडा नं –२ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारले बास बस्दै आएको घर अविरल वर्षाका कारण आएको बाढीपहिरोले भत्काइदिएपछि अहिले ती परिवारहरूलाई कहाँ गएर बस्न भन्ने समस्या भएको हो ।

जगनाथ गाउँपालिका वडा नं –२ का गोरखे सार्कीले घरभत्किएपछि अहिले खुल्ला आकाशमा बसेको बताउनुभयो ।

असोज १९ देखि २५ गते सम्म लगातार परेको अविरल वर्षाका कारण जगनाथ गाउँपालिका वडा नं २ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ वटा घर भत्किएपछि अहिले यहाँका स्थानीय खुल्ला आकाश मुनी बास गर्दै आएको उहाँले बताउनुभयो ।

घर भत्किएपछि घरमा रहेको खाद्यान्न लुगा कपडा समेत छापिएपछि अहिले गाँसबासकै समस्या भएको सार्कीले बताउनुभयो ।

जगनाथ गाउँपालिका –२ का वडा अध्यक्ष धनवीर सार्कीले, आर्थिक अभावका कारण यहाँका स्थानीयले पहिलादेखि मर्मत गर्न नसकेका घरहरू यो वर्षको वर्षामा सबै भत्किएपछि हिउँदको चिसोमा खुल्ला आकाशमा बास गर्नुपर्ने समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घर जीर्ण अवस्थामा रहेको भए पनि यहाँका स्थानीयको आर्थिक अभावका कारण मर्मत गर्न नसकेपछि अहिले ती सबै घर पानी पर्ने बित्तिकै भत्किएका हुन् ।’

गाउँपालिका चारैतिर पहिरो छ, बस्ती नै जोखिममा परेको छ, यसका लागि यी गाउँ बस्ती अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको अध्यक्ष सार्कीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले, जगनाथ गाउँपालिका अधिकांशको घर निर्माणका लागि रकम खातामा हालिदिएको बताउनुभयो ।  

घर निर्माणका लागि नै सरकारले एक परिवारलाई पाँच लाख रकम दिँर्दै आएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।