• १३ साउन २०८१, आइतबार

सङ्कटापन्न सूचीमा रहेको सुनगोहोरो धानखेतमा फेला

blog

घोडाघोडी–१ जनपुरमा धान काट्दै गर्दा खेतमा देखिएको सुनगोहोरो

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), असोज २९ गते । कैलालीको घोडाघोडी नगरपालिका १ जनकपुरमा शनिबार बिहान विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको छ । स्थानीय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानीयले बिस्तारै हिँड्दै गरेको अवस्थामा सुनगोहोरालाई देखेका थिए । 

धान काट्दै गर्दा सुनगोहोरो देखेका स्थानीय नवीन पुरीले महत्त्वपूर्ण प्रजातिजस्तो लागेपछि खबर इलाका वन कार्यालय, सुखडको समूह सुरक्षित उद्धारका लागि स्थलगत क्षेत्रमा पुगेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख गोकुल रिजालले संकाटपन्न प्रजातिको रूपमा रहेको सुनगोरोलाई उद्धार गरी सुरक्षित स्थानमा छोडिने बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले घस्रने जातका जन्तुअन्तर्गत सुनगोहोरालाई अधिक चोरी सिकार र अवैध व्यापार हुने प्राणीको सूचीमा राखेको छ । सुनगोहोरोको चोरीसिकारी र अवैध व्यापार गर्नेलाई कडा सजायको कानुनी व्यवस्था समेत गरेको विभागले जनाएको छ । 

स्थानीय संरक्षणकर्मी दयाराम चौधरीले जङ्गल र पानी भएको क्षेत्रमा बस्ने सुनगोहोरो अण्डा दिनका लागि सुरक्षित स्थान खोज्दै खेतमा पुगेको हुनसक्ने बताउनुभयो । 

उहाँले अण्डा दिने समयमा शरीर भारी हुने र धेरै दौडन नसक्ने भएकाले खेतमा किसानले सहजै देख्न सकेको समेत उल्लेख गर्नुभयो । 

नेपाललगायत भारत, बङ्गलादेश, म्यान्मा र पाकिस्तानमा मात्र पाइने सुनगोरो तराईक्षेत्रमा पाइन्छ । १५ देखि २० वर्षसम्म बाच्ने सुनगोहोरोको आकारअनुसार आठदेखि तीसवटासम्म अण्डा दिने बताइएको छ ।

आईयुसिएनले सङ्कटापन्न सूचीमा राखेको सुनगोहोरो संरक्षणमा नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ अन्तर्गत हेर्दै आएको छ ।