• ७ मंसिर २०८१, शुक्रबार

स्रष्टा, द्रष्टा माधव घिमिरेहरूप्रति (कविता)

blog

नेपालीका विपुल मनका मर्मका चेतनाका 

उच्चोन्मेषी भव र नभका, घस्रिँदो जीवनीका 

देख्दै बुझ्दै सुदुरपुरको झल्किँदो ज्योतिलार्ई 

पक्डी, बाँडी अनुपम कला नित्य सिर्जी सजाई ।


नित्यै मेरो अभय पथमा माधवीको प्रभा होस्

साथी मेरो सरल पथमा माधवै नै सुवासोस्

मान्छे जागोस् रवज पथमा गुञ्जना रम्य पाओेस् 

नित्यै चल्ने मनुज गति यो सिर्जनामा रमाओस् । 


मेरो सिल्पी सब भुवनको ब्रह्मवेत्ता विहारी

मेरो सिल्पी नवपथिकको चेतयात्राधिकारी 

मेरो सिल्पी उपवन नयाँ स्पन्दनी मूल स्रोत

मेरो सिल्पी मनुजपथको सिर्जना छाँटकाँट ।


आभा चुम्दै भव र नभका, वक्षका, चेतमाला 

ब्रह्माण्डैका गुँजन दुरका चम्किँदा ब्रह्मज्वाला   

ओम्कारैका झलमल कलाकार सङ्केत पाऊँ 

झल्का टिप्दै अब नवपथी ‘चारु’ का चाल चालूँ । 


त्यै चालाका प्रकृति, सुरका, वक्षका गीत गाऊँ 

विश्वात्माका सुखद रसका, दीप्तिका छन्द पाऊँ 

ती छन्दैमा विलयलयमा विश्व यो रच्न जागौँ

नित्यै सारा अविरल नयाँ–लोकमा डुल्न लागौँ । 


मान्छे के हो ? यस भुवनको चेतना ज्ञानरासी

मान्छे को हो ? गहनगुहको बोध, विज्ञान भाषी

मान्छे साँच्चै नवपलमुखी दीप्तिको मोहनी हो

नित्यै जागा मनमगजको कल्पना, सिर्जना हो ।


मान्छे उक्ल्योस् हिमशिखरका विम्बझैँ सिर्जनामा 

मान्छे चम्क्योस् उदयचलका विम्बका सुप्रभामा

उड्दा, डुब्दा नभ र भवमा, माथमा, कल्पनामा 

‘साक्षी’ होओस् हर नवपलै वक्षहोस् सत्यतामा । 


स्रष्टा, द्रष्टा ! भुवन भरिका दिव्यता, भौतिकैका

नित्यै जागा अतुल मनका चेतना, चिन्तनाका 

ज्ञानी, ध्यानी महक महिमा दीप्त प्रकाश देऊ !

सारा आऊ कुसुुम मनले विश्व साझा सजाऊँ !