प्रत्येक घडी विसर्जन भैरहेछ
महायज्ञको पूजा फूलपाती अक्षतासँगै
भक्तहरूका त्याग र तपस्या ।
होमकुण्डमा होमिएका चरुहरूबाट
धुँवा कतै माथि माथि विलीन हुँदैछ
पुजारीका स्वाहाको आवाज
कतै साँच्चिकै स्वाहा भएको छ
भक्ति र आराधनाको
र भक्तहरूका सपनासँगै ।
अब कुनै पुण्यकर्मको फलको
आस कसरी गर्नु ?
दक्षको महायज्ञको होमकुण्डमा
शुम्भ निशुम्भ निर्बाध रमाइरहेका छन्
पूजाको फलको प्राप्तिमा खुसीले
निमग्न डुडुल्नो निल्दैछन्
भक्तहरूको
फल आफैँ कुम्ल्याइरहेका छन्
र विजयको उद्घोष गर्दै
नाचिरहेछन् नाङ्गा मुर्कट्टाहरूको नाच ।
साँच्चिकै विसर्जन भैरहेछ महायज्ञ
भक्तको भक्ति र तपस्या
नवदुर्गाको आगमनको आसमा
भक्तहरू चुपचाप बाटो हेरिरहेछन्
संहार गर्नु छ शुम्भ निशुम्भहरूको
माँ दुर्गे फेरि रचिदेऊ लीला
माँ फेरि रचिदेऊ लीला ।