• २० साउन २०८२, मङ्गलबार

पशुपतिमा चढाइएका सामग्री बिक्रीमा

blog

काठमाडौँ, असोज २९ गते । पशुपतिनाथको मन्दिरमा विभिन्न समयमा भक्तजनले चढाएका सामग्री बिक्री गर्न थालिएको छ । पशुपति क्षेत्र विकास कोषले सो सामग्रीको बिक्री कक्ष कोजाग्रत पूर्णिमाको दिनदेखि सञ्चालनमा ल्याएको छ ।

पशुपतिनाथ मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि कोषले बिक्री कक्ष सञ्चालनमा ल्याएर बिक्री गर्न थालेको हो । यसअघि २०७२ को महाभूकम्पअघि सञ्चालनमा रहेको उक्त बिक्री कक्षमा भूकम्पले क्षति पु-याएपछि केही समय बन्द रहेको थियो ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कोजाग्रत पूर्णिमाको अवसर पारेर बिक्री कक्ष पुनः सञ्चालनमा ल्याएको बताउनुभयो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार भक्तजनले भगवान् शिवलाई अर्पण गरेका कपडा, धार्मिक पुस्तकलगायतका सामग्री बिक्री कक्षमा राखिएका छन् ।

धार्मिक आस्थाले मन्दिरमा चढाइएका सामग्री तथा प्रसादलगायतका वस्तुको पुनः उपयोग गर्ने उद्देश्यले सहुलियत मूल्यमा बिक्रीको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा सङ्कलन भएका विभिन्न ३१ प्रकारका सामग्रीलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको छ ।

कोषले दोस्रो संस्करणका रूपमा प्रकाशन गरेको शिव महापुराणको नेपाली अनुवाद ग्रन्थ र लिङ्ग पुराणको नेपाली अनुवाद प्रकाशनमा ल्याई बिक्री कक्षमा राख्ने तयारी गरेको छ ।

मन्दिरको पश्चिम गेटको दक्षिणतर्फ रहेको पुरानो सप्तमी सत्तलसँगै रहेको बिक्री कक्ष शनिबारबाहेक हरेक दिन सञ्चालनमा रहने गरेको छ । पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र कर्मचारीलाई कोषमा जम्मा भएको रकमबाटै तलब तथा सेवा सुविधा दिइने गरिएको छ ।

कोषले पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दा, नित्यपूजा, पार्किङ, गुठी जग्गाबाट हुने आम्दानी, पर्यटक प्रवेश शुल्क, किरियापुत्री सेवा, घाट, तिलगङ्गा धर्मशाला र विद्युतीय शवदाह गृह, दानपेटिकाबाट आम्दानी उठाउँदै आएको छ । आम्दानीलाई पारदर्शी बनाउन कोषले दानपेटिकाबाट उठेको रकम नेपाल इन्भेस्टमेन्ट बैङ्क, विशेष पूजाको रकम एसबीआई बैङ्क र पर्यटक प्रवेश शुल्कबाट उठ्ने रकम सनराइज बैङ्कमा दाखिला गर्दै आएको छ ।