• २२ वैशाख २०८१, शनिबार

साइक्लिङ शनिबारदेखि, ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने

blog

काठमाडौं, असोज २८ गते । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल शनिबारदेखि सुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सात प्रदेश र तीन विभागीय गरी १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिस्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीवनको ट्र्याकमा प्रतिस्पर्धा गराइनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइनेछ । 

साइक्लिङको तयारी पुरा भइसकेको हुँदा शुक्रबार (आज) खेलाडीलाई ट्र्याक चिनाउने कार्य गरिएको नेपाल साइकल सङ्घका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिनुभयो । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल सङ्घ कास्कीका अध्यक्ष शङ्कर भण्डारीले बताउनुभयो । 

साइक्लिङको शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्र्याकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबार पनि सोही क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुनेछ । ४ विधाबाट साइक्लिङमा पुरुष महिला गरी ८ स्वर्ण, ८ रजत र ८ कांस्यका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।