• २० साउन २०८२, मङ्गलबार

बागलुङमा एक अर्ब बढी राजस्व सङ्कलन

blog

आन्तरिक राजस्व कार्यालय बागलुङको कार्यालय । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन २० गते ।
आन्तरिक राजस्व कार्यालय बागलुङले गत आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी मोहनप्रसाद आचार्यले कार्यालयले लक्ष्यको ८७ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेको बताउनुभयो । कार्यालयले एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

“सरकारको आन्तरिक राजस्व सङ्कलनको बजेट अनुरुप राजस्व सङ्कलनको लक्ष्य निर्धारण हुन्छ,” सूचना अधिकारी आचार्यले भन्नुभयो,“कार्यालयले गतआवमा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकियो ।”

कार्यालयले गतआव २०८१/०२ मा आयकर ६० करोड १० लाख ३५ हजार रुपियाँ, भाडा आयकर एक करोड ५३ लाख ४० हजार रुपियाँ, ब्याज कर १० करोड ४१ लाख ४५ हजार रुपियाँ, मूल्य अभिवृद्धि कर (आन्तरिक) २९ करोड ७३ लाख ५४ हजार रुपियाँ, आन्तरिक आन्तरिक उत्पादन शुल्क पाँच करोड ८५ लाख ५३ हजार रुपियाँ, शिक्षा कर तीन हजार रुपियाँ र अन्य कर दुई लाख रुपियाँ सङ्कलन भएको छ । अघिल्लो आ.व. २०८०/०८१ मा ९६ करोड ७६ लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । उहाँले अघिल्लो आवको तुलनामा गतआवमा १० करोड ८९ लाख ८० हजार रुपियाँ बढी राजस्व सङ्कलन गरिएको बताउनुभयो ।

कार्यालयले गतआवमा व्यवसायिक आयकर दर्ता दुई हजार एक सय २३ वटा, व्यक्तिगत आयकर कर्ता एक हजार सात सय ४६, डब्लुप्यान एक सय २८, मूल्य अभिवृद्धि कर एक सय ४९ र अन्तशुल्क एक सय ६४ वटा नयाँ दर्ता गरी करको दायरा विस्तार गरेको छ । सूचना अधिकारी आचार्यले कार्यालयबा हालसम्म व्यवसायिक आयकर दर्ता ३० हजार सात सय ४९, व्यक्तिगत आयकर दर्ता ५९ हजार एक सय ९७, डब्लू प्यान एक हजार तीन सय ३१, मूल्य अभिवृद्धि कर दुई हजार तीन सय पाँच र अन्तशुल्क दुई हजार ४० वटा दर्ता भएको बताउनुभयो ।

कार्यालयले आयकर तर्फ ६ र मूल्य अभिवृद्धि कर तर्फ १२ गरी १८ करदातालाई कानुनी कारवाही गरेर ५४ लाख ५९ हजार रुपियाँ सङ्कलन गरेको जनाएको छ । यस्तै कार्यालयले एक सय ३८ वटा करदाताको द्रुत छानविन गरी २४ लाख ५७ हजार कर असूली गरेको छ ।

यस्तै कार्यालयले बेरुजु रकम ३४ करोड १३ लाख ७६ हजारमध्ये २२ करोड ५२ लाख ९३ हजार रुपियाँ वेरुजु फर्छ्यौट गरी सम्परीक्षणका लागि मालेप कार्यालयमा पठाइएकोमा चार करोड ७१ लाख ३१ हजार रुपियाँ बेरुजु सम्परीक्षण भइसकेको सूचना अधिकारी आचार्यले बताउनुभयो । उहाँले आयकर तर्फ दुई करोड २८ लाख ३२ हजार र मूल्य अभिवृद्धि तर्फ तीन करोड १९ लाख १० हजार रुपियाँ बक्यौता असुली गरिएको बताउनुभयो । दुई करोड ६० लाख ७६ हजार रुपियाँ र मूल्य अभिवृद्धि करतर्फ एक करोड ५३ लाख २० हजार गरी चार करोड १३ लाख ९६ हजार वक्यौता मिलान गरिएको आचार्यको बताउनुभयो ।