• २० साउन २०८२, मङ्गलबार

रौतहट प्रशासनद्वारा जोखिम क्षेत्र अनुगमन

blog

पानीको बहाव बढेपछि जोखिममा रहेका ठाउँ अवलोकन गर्नुहुँदै रौतहटका सुरक्षा निकाय लगायत जनप्रतिनिधिहरु । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन २० गते ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीमा पानीको बहाव बढेपछि जोखिमयुक्त स्थानको स्थलगत अनुगमन गरेको छ ।

सुक्खाग्रस्त रौतहटमा आइतबार र सोमबार परेको लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटको टोलीले सोमबार नदीको तटीय क्षेत्रमा पर्ने जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटका निमित्त प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीको नेतृत्वमा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव, माधव नारायण नगरपालिकाका नगर  प्रमुख बैजनाथ प्रसाद यादव, सुरक्षा निकायका प्रमुखहरु, बागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका इन्जिनियर तेजनारायण यादव, जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयको पदाधिकारीसहितको टोलीले निरीक्षण गरेको हो । राजदेवी  नगरपालिकाका, दुर्गा भगवती गाउँपालिका, माधवनारायण नगरपालिका हरेक वर्ष उच्च जोखिममा पर्दै आएको छ ।

राजदेवी नगरपालिका –३  चनडिहा तथा माधवनारायण नगरपालिका –९ गढो भगवानपुर उच्च जोखिममा रहेको बताउनु हुँदै निमित प्रमुख जिल्ला अधिकारि तिवारीले जनताको जीउधनको सुरक्षाका लागि पाँच वटै सुरक्षा निकाय २४ घण्टा सक्रिय रुपमा खटिएको बताउनुभयो ।

निमित प्रमुख जिल्ला अधिकारी तिवारीले नदीको बहाव बढेर बस्तीमा पानी पस्ने खतरा देखिएकाले कटान भइ रहेको ठाउँमा तत्काल बाँध मर्मतका लागि निर्देशन दिएको बताउनुभयो ।

बस्तीमा बाढी बस्तीमा पस्न नदिन विगतमा ठेक्का सम्झौता भएका नदी नियन्त्रणका कामहरूलाई तीव्रता दिन ठेकेदारलाई समेत निर्देशन दिएको उहाँले बताउनुभयो ।