• १३ साउन २०८१, आइतबार

दलका उम्मेदवारसँग भिड्दै बागी तथा स्वतन्त्र उम्मेदवारहरु

blog

महोत्तरीमा बागीहरु पोषणबहादुर थापा, राजन ढुङ्गाना र फाल्गुण सुुस्लिङ, विष्णुबहादुर योञ्जन । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज २८ गते । प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा महोत्तरीमा बागी तथा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ । अधिकांश बागीहरूले दलको ह्विप अटेर गर्दै नाम फिर्ता लिन नमानेपछि आधिकारिक उम्मेदवारलाई यो निर्वाचन चुनौतीपूर्ण हुने आकलन गरिएको छ ।

जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ ६९ र प्रदेश सभाका लागि १७० गरी २३९ जनको मनोनयन दर्ता भएको थियो । नाम फिर्ता भने प्रतिनिधि सभाका १ र प्रदेश सभाका ९ गरी १० जना अर्थात् ४ प्रतिशतले मात्र लिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । 

प्रतिनिधि र प्रदेश सभामा कुल उम्मेदवारको ६५ प्रतिशत अर्थात् १९४ जना स्वतन्त्र एवं बागी उम्मेदवार छन् । महोत्तरीका ९५ जना दलका उम्मेदवारका लागि आसन्न चुनाव गाह्रो हुन सक्ने बताइको छ ।  

‘हिजोसम्म साथ, सहयोग, सहकार्य र हातेमालो गर्दै आएका साथीहरू बागी बनेपछि आधिकारिक उम्मेदवारलाई चुनौती र समस्या थपिनु स्वाभाविक भएको क्षेत्र नं १ (क) की पूर्व प्रदेश सांसद एवं एमालेकी प्रदेश सदस्य उम्मेदवार शारदादेवी थापाले बताउनुभयो । 

यातायात व्यवस्था कार्यालयबाट राजीनामा दिएर महोत्तरी क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पोषणबहादुर थापा स्वतन्त्र उम्मेदवारको उदय र माहौल बनेको बताउनुहुन्छ ।  

बर्दिबासस्थित निर्वाचन क्षेत्र १ को मतदान अधिकृतको कार्यालयले जनाएअनुसार यस क्षेत्रबाट प्रतिनिधि सभाका लागि ८ स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद देवकोटा र प्रदेश १ (क) बाट एमालेका बागी हरेराम लामा र (ख) बाट माओवादीका बागी राधेश्याम सापकोटाले नाम फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन क्षेत्र १ (क) मा एमालेकै अर्का बागी फाल्गुणकुमार सुसलिङ र माओवादीका राजन ढुङ्गाना र स्वतन्त्र समूहका युवराज पोखरेलले फिर्ता लिनुभएन । (ख) मा पनि माओवादीका बागी विष्णुबहादुर योञ्जनले मनोनयन फिर्ता लिनुभएको छैन ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ माओवादीका पूर्वमन्त्री गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतो तथा प्रदेश सभातर्फ मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह र एमालेकी पूर्व प्रदेश सभासद् शारदादेवी थापा र नेकपा समाजवादीका सुरेशबहादुर राउतले स्वतन्त्र एवं बागी उम्मेदवारसँग कडा चुनावी भिडन्तको सामना गर्नुपर्ने देखिएको छ ।