• १३ साउन २०८१, आइतबार

स्वतन्त्र उम्मेदवारले आचारसंहिता उल्लङ्घन गर्दै

blog

देवरामप्रसाद यादव

सप्तरी, असोज २७ गते । सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले  निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेगरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरित राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको हो ।

आयोगले सत्र दिन मात्र निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने व्यवस्था गरे पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचार प्रसारमा उत्रेका छन् । 

दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित पार्टीको चिन्ह अंकित टिसर्ट र टोपी प्रयोग गरेर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । दल र उम्मेदवारका कार्यकर्ता पार्टीको चिन्ह अंकित टिसर्ट लगाएर घरदैलो कार्यक्रममा सहभागी हुनेगरेका छन् ।

सप्तरीमा निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा पोष्ट समेत गर्दै चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको सार्वजनिक स्थल  भवन, स्मारक, पर्खाल, सडक, विजुलीको खम्बा लगायतका ठाउँमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुने व्यवस्था छ । बिजुलीको खम्बामा र सार्वजनिक सबारी साधनमा पार्टीका पोस्टर र झण्डाहरू टाँसिएका छन् । 

त्यस्तै राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले जुलुस वा आमसभा गर्दा निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको सामग्री बोक्न बन्देज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले लाउडस्पीकर र ध्वनि उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न बन्देज गरिएको भए पनि दल र स्वतन्त्र उम्मेदवारले आचारसंहिता विपरित काम गरिरहेको स्थानीय मतदाताको भनाइ छ ।

सहायक निर्वाचन अधिकृत कुमार मास्केले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गर्ने दल र स्वतन्त्र उम्मेदवारलाई पहिलो चरणमा सचेत गराउने र नमानेमा कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।