• ४ जेठ २०८१, शुक्रबार

राजनीतिमार्फत जनताको सेवा गर्ने पूर्व सुरक्षा प्रमुखको लक्ष्य

blog

काठमाडौं, असोज २७ गते । पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।

आगामी निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दर्ता गराउनु भएका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गत असोज ४ गते नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । प्रहरी प्रमुख पदबाट अवकाश पाएपछि एमाले निकट भएर काम गरिरहनुभएका उहाँ पार्टी प्रवेश गरेर राजनीतिलाई सही मार्गमा लग्ने आफ्नो प्रयास हुने बताउनुभयो ।  

अहिले काठमाडौं ६ बाट उहाँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । खनाल भन्नुहुन्छ, “विभिन्न क्षेत्रका विज्ञतालाई सदुपयोग गरी कानुन निर्माण गर्न राजनीतिमा मेरो उपस्थिति रहन्छ ।”  एमालेको रणनीतिक योजना र लक्ष्यका साथ अघि बढ्ने उहाँले बताउनुभयो । राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्यलाई साकार पार्न योगदान दिने उहाँको भनाइ छ ।  

राष्ट्रिय सङ्कल्पको रुपमा रहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्यलाई साकार पार्न योगदान दिने उहाँको भनाइ छ ।  

एमाले नेतृत्वको सरकारबाट सो काम सम्भव हुने भन्दै उहाँले थप्नुभयो, “घोषणापत्र अनुसार जे बोलिन्छ, त्यो काम गरिन्छ ।” झुटा आश्वासन र झुटा कुरा अब जनताले नपत्याउने उहाँले प्रष्ट पार्नुभयो । “कतै भ्रष्टाचारको कुरा आएमा आक्रामक रूपमै प्रस्तुत हुनेछु” उहाँले भन्नुभयो । 

राजनीतिमा अकर्षण

अरू व्यक्तित्वहरू कसरी राजनीतिमा प्रवेश गर्नुभयो भन्नेतर्फ आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म देश बनाउन यस क्षेत्रमा आएकाले देश र जनताको सेवामा समर्पित हुनेछु, हिजो प्रहरी सङ्गठनमा हुँदा निष्ठापूर्वक काम गरेँ, यो क्षेत्रमा पनि त्यसरी काम गर्नेछु ।”  

राजधानीवासी मतदाता सचेत र सक्षम रहेकाले बुझेर मतदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा चुनिएकाहरूबाट सोचेजस्तो काम भएन, त्यसको विकल्प मसँग छ, त्यो बुझेर पनि मलाई मत आउँछ भन्नेमा म विश्वस्त छु ।” 

आधारभूत आवश्यकता  

खनालले आफू चुनाव जितेमा गाउँदेखि सहरसम्म राष्ट्रिय रूपमा रहेको खानेपानी, जनताका अत्यावश्यक आधारभूत आवश्यकता, बाटो बिजुलीजस्ता अनेकौँ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा अझै पनि आधारभूत आवश्यकताबाट मानिसहरू वञ्चित छन्, त्यो पूरा गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।” 

बनेका कानुनलाई परिष्कृत गर्दै अनुभव, क्षमता र दक्षताको सदुपयोग गरी समृद्ध राष्ट्र निर्माण गर्न ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभयो । मुलुकमा सुशासन कायम गर्न, बेथिति हटाउन समर्पित हुने उहाँको प्रतिबद्धता छ ।  

कुशल नेतृत्वको प्रयास

नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले काठमाडौं क्षेत्र १ मा उम्मेदवारी दिनुभएको छ । काठमाडौं १ मा सत्ता गठबन्धनलगायत, स्वतन्त्र पार्टीका नेताहरूसँग उहाँको प्रतिस्पर्धा हुनेभएको छ । आमा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएका खरेल राजनीतिमा आएर कुशल नेतृत्वको वातावरण निर्माणको प्रयास गर्ने बताउनुभयो । 

नेपालमा गिजोलिएको राजनीति छ, कुशल नेतृत्वको निर्माण भई चाँडै देश विकास होस्, भन्ने मेरो चाहना छ ।

उहाँले भन्नुभयो, “नेपालमा गिजोलिएको राजनीति छ, कुशल नेतृत्वको निर्माण भई चाँडै देश विकास होस्, भन्ने मेरो चाहना छ ।” चुनावको मुखमै उहाँ अहिले अस्वास्थ्य हुनुहुन्छ । डेङ्गुसँग आफूले सामना गरिरहेको बताउँदै खरेलले भन्नुभयो, “अहिले म डेंगुसँग लडिरहेको छु, पूर्ण रूपमा ठिक भएको छैन, देशको हालत पनि यस्तै अस्वस्थ रहेको जनताले महुशस गरेका छन्, हामी सबै मिलेर देशलाई स्वस्थ बनाउनुपर्छ ।”  

देश र जनताप्रति समर्पित

नेपाल प्रहरीका पूर्व डिआइजीसमेत रहनुभएका नवराज सिलवालको उद्देश्य पनि नेपालको राजनीतिलाई सही मार्गमा लग्ने नै हो । ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका सिलवालले आफू राजनीतिमा रहँदासम्म देश र जनताको हितमै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

राजनीतिमा मेरो अटल विश्वास छ, देश र जनताका लागि म जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु ।

“मैले गरेका काम, मेरो योगदान, मेरो समर्पण, मेरो जीवन र अन्यायविरुद्धको संघर्षले मलाई जनतामाझ राखेको छ” उहाँले थप्नुभयो, “राजनीतिमा मेरो अटल विश्वास छ, देश र जनताका लागि म जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु ।”

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।