• १५ असार २०८१, शनिबार

दोलखामा चुनावी चहलपहल सुरु

blog

घरदैलो गर्दै प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार कुन्दनरान काफ्ले । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले 

चरिकोट, असोज २७ गते । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।

एक प्रतिनिधि सभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दोलखामा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले चुनाव केन्द्रित अभियानसहित विभिन्न गतिविधि गरिरहेका छन् । नेपाली काँग्रेसले पनि चुनावी योजना तयार गरेको जिल्ला उपसभापति अर्जुन सिवाकोटीले बताउनुभयो । 

दोलखा प्रदेश सभा क्षेत्र नं. १ मा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको उपस्थितिमा निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको कांग्रेस नेता कुमार भुजेलले जानकारी दिनुभयो । उम्मेदवार काफ्लेको नेतृत्वको टोलिले आफ्नो क्षेत्रका मुख्य बजार तथा गाउँमा घरदैलोलाई तीव्रता दिएको उहाँले बताउनुभयो । 

निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) दोलखाले विभिन्न बैठक आयोजना गरी विभिन्न कार्यक्रममा तीव्रता दिंदैआएको एमाले जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी अभियान र निर्वाचनलक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ ।” 

जिल्लामा गठबन्धनबाट प्रतिनिधि सभामा माओवादीबाट गङ्गा कार्की, प्रदेश सभा क्षेत्र नं १ मा कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले क्षेत्र नं २ मा काङ्ग्रेसका जिल्ला  सभापति बर्मा लामाको उम्मेदवारी रहेको छ । यसैगरी एमालेबाट प्रतिनिधि सभामा बालकृष्ण सिवाकोटी, प्रदेश सभा क्षेत्र नं १ मा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र प्रदेश सभा क्षेत्र नं २ मा भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीको उम्मेदवारी रहेको छ । 

दोलखामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा गरी तीन सिटका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ५२ जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचार प्रसारमा लागेका छन् ।