• ७ जेठ २०८१, सोमबार

काम : चकलेट खाने तलब : एक करोड

blog

‘चकलेट’ सुन्दै मुख रसाउने । हामी भाइबहिनीलाई असाध्यै मन पर्ने । स्वादिलो खानेकुरा कसलाई मन नपर्ला र ? त्यसमाथि हामी बालबालिका चकलेट भनेपछि हुरुक्कै हुन्छौँ । कुनै खुसियाली होस् वा जन्मदिन अहिले चकलेट चाहिन्छ, चाहिन्छ । बजार घुम्न जाँदा होस् वा लामो सफरमा घरबाहिर जाँदा चकलेट नभई बालबालिका फिटिक्कै  पाइला चाल्दैनौँ ।   चकलेट अहिले बालबालिकादेखि वृद्धवृद्धाको दैनिकीमा अभिन्न अङ्ग बनेको छ । त्यसैले भाइबहिनीहरू ! यस पटक चकलेट के हो र कसरी बन्छ भन्ने विषयमा केही जानकारी लिउँ है त ।

खासगरी चकलेट कोको नामको फलको बियाँलाई पिँधेर यसको चूर्ण (धुलो)बाट बनाइन्छ । कोको रुखको फलको बियाँ (बीउ) निकालेर घाममा सुकाइन्छ त्यसपछि सुकेको बियाँलाई पिसेर मैदाको पीठोजस्तो धुलो तयार पारिन्छ । यसरी तयार पारिएको सो धुलोमा चिनी, दूध तथा हाइड्रोजेनेटेड भेजिटेबल तेललाई गाई वा भैँसीको दूधमा मिसाएर जमाउने गरिन्छ । यसरी जमेको ठोस वस्तुलाई विभिन्न साइज वा आकारमा काटेर अलग–अलग प्याकेटमा बन्द गरी बजारमा बिक्री वितरणका लागि तयारी रूपमा पठाइन्छ । त्यो नै चकलेट निर्माणको आधारभूत प्रक्रिया हो । त्यसो त चकलेट चियाजस्तै पेय पदार्थका रूपमा समेत सेवन गर्ने गरिन्छ । 

भाइबहिनीहरू ! कोकोको रुख सुरुमा अमेजन नदीको आसपासका क्षेत्रमा मात्र पाइने गथ्र्यो । पछि स्पेनिस र अङ्ग्रेजहरूले यो फल अफ्रिकामा समेत पु¥याए । यसको रुख मेवाजस्तै देखिन्छ र फल पनि मेवाजस्तै फल्छ । यसको फललाई टिपेर केही दिन राखेपछि फलभित्र रहेका गेडा जम्दै जान्छन् । यी गेडालाई भुटेर पिँधेपछि मात्र चकलेटको स्वाद दिने धुलो बन्छ । 

कोको मेवाजस्तै एकै ठाउँमा लटरम्म १५/२० वटासम्म फल लागेको देखिन्छ । यसको एक फलमा ३० देखि ६० बीज हुन्छन् । यो पनि चियाजस्तै पेय पदार्थ हो, जसलाई पेयका रूपमा लिन सकिन्छ वा जमाएर चकलेट वारका रूपमा खान पनि सकिन्छ । 

ब्राजिल र अमेजन नदीको आसपासका क्षेत्रको वनमा हुने यो जङ्गली फल अहिले ल्याटिन अमेरिकी मुलुकका साथै अफ्रिकामा नाइजेरिया, आइभोरी कोस्ट, घाना, क्यामेरुनलगायतका विभिन्न देशमा नगदेबालीका रूपमा फैलिँदै गएको छ । मलेसिया, पपुआ न्युगिनी र थाइल्यान्डको दक्षिण भागमा पनि यो फल डच र स्पेनिसले पु¥याएका थिए । 

सुरुमा युरोपतिर चकलेट पिठोमा पानी र सख्खर हालेर पकाउने तरल रूपमै पिइने गरिन्थ्यो । पछि अनेक थरीका मिठाईमा चकलेट मिसाउन थालियो । १६औँ शताब्दीतिर युरोपमा चिया पसलजस्तै चकलेट पसल फैलिए । भाइबहिनीहरू ! चकलेट चियाभन्दा निकै अगाडिदेखि युरोपियनहरूका लागि पेय बनेको हो । चकलेटले खासमा सुवास थप्ने र ठीक राख्न औषधिको काम गर्ने जनधारणा शताब्दीऔँ अगाडिदेखि बनेको हो । 

चकलेटलाई पेय र खाद्य पदार्थका रूपमा झन्डै १६ सय वर्ष अगाडिदेखि दक्षिण अमेरिकामा प्रयोग गरिँदै आएको छ । ठुल्ठूला उत्सव र विवाह आदिमा सर्वसाधारणदेखि राजघरानामा समेत चकलेट पेयका रूपमा प्रयोग गरिन्थ्यो । यसको रुख चार मिटरदेखि पाँच मिटरसम्मको अग्लो हुन्छ, यसमा फल लाग्छ । कोको गर्मी मौसममा पाइने रुख हो, त्यसैले यसलाई उच्च तापक्रम र अत्यधिक वर्षा चाहिन्छ । तापक्रम र मौसमका हिसाबले नेपालका तराई क्षेत्रमा समेत यसको खेती गर्न सकिन्छ । 

कोकामा ट्रिप्टोफान नामक एमिनो एसिड पनि हुन्छ जसले रक्तसञ्चार तथा सेरोटोनिनको (आनन्दको अनुभूतिसँग जोडिएको अर्को हर्मोन) स्तर बढाइदिन्छ । भाइबहिनीहरू ! चकलेटमा एन्टिअक्सिडेन्ट, भिटामिन, डायट्री मिनरल्स र फ्याटी एसिड हुन्छन् तर यसमा रहेको कफिनका कारण रातमा चकलेट खानाले अनिद्राको समस्या हुने गर्छ । त्यति मात्र हैन, चकलेटमा रहेको थियोफाइलिइनका कारण हलुका टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या पनि पैदा हुन्छ । त्यसैले चकलेट हल्का रूपमा कहिलेकाहीँ मात्र खाने गरौँ है ।  


चकलेट खाने जागिर

भाइबहिनीहरू ! एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ । त्यो जागिरमा तपाईंले केबल चकलेट चाखिदिने काम गरेबापत करिब एक करोड रुपियाँ तलब पाउनु हुनेछ । एउटा चकलेट कम्पनीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञापनले अहिले राम्रै चर्चा पाइरहेको छ । क्यानडास्थित क्यान्डी फनहाउस नामक उक्त कम्पनीले एक जना चिफ क्यान्डी अफिसरको पदका लागि विज्ञापन खुलाएको हो । भाइबहिनीहरू ! अर्को रोचक कुरा के छ भने प्रमुख क्यान्डी अधिकृत पदमा आवेदन गर्न बालिग हुनु पर्दैन । यसका लागि पाँच वर्ष उमेर पुगेका जो कोही बच्चाले पनि आवेदन गर्न सक्छन् । क्यान्डी फनहाउसका सीईओ जमिल हेजाजीका अनुसार क्यान्डी अफिसरले एक दिनमा केबल एक सय १७ वटा क्यान्डी तथा चकलेट चाख्नुपर्नेछ । त्यसबापत उनले वार्षिक साढे ९८ लाख रुपियाँ बराबरको तलब पाउनेछन् । छैन त गजबको जागिर ?