• १३ साउन २०८१, आइतबार

विमानस्थल सेवा शुल्क

blog

नेपालमा नागरिक उड्डयनको विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम प्राधिकरण स्थापना भएको हो । नेपाल सरकारले स्वीकृत गरेको विमानस्थल सेवा शुल्क नियमावली, २०७८ बमोजिम प्राधिकरणले लगाउने हवाई यात्रुसँग सम्बन्धित मुख्य–मुख्य सेवा शुल्कबारे यहाँ उल्लेख गरिएको छ । 

ऐनले प्राधिकरणलाई आफ्नो कार्यसम्पादन गर्न वायुसेवा सञ्चालन व्यवसाय तथा हवाई यात्रुसमेतको सुरक्षा र हितलाई ध्यानमा राखी व्यापारिक सिद्धान्त अनुसरण गरी आर्थिक स्रोतसाधन सङ्कलन गर्न पाउने अधिकार प्रदान गरेको छ । प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत ५२ विमानस्थल रहेका छन् । धावन मार्ग कालोपत्रे भएका विमानस्थल ४०, नियमित हवाई सेवा सञ्चालनमा रहेका ३३, सञ्चालनमा नरहेका १९, रात्रिकालीन उडान सुविधा भएका ८ र  वर्षैभरि सञ्चालनयोग्य विमानस्थल ४०, कालीकोट, अर्घाखाँची र कमलबजार निर्माणाधीन विमानस्थल हुन् । त्यस्तै नेपालसँग द्विपक्षीय हवाई सम्झौता भएका मुलुकको सङ्ख्या ४०, नेपालबाट सिधा उडान हुने देश १५ र नेपालमा उडान भई आउने अन्तर्राष्ट्रिय वायुसेवाको वृद्धि हुँदै गएको छ । यसरी बढ्दै गएको विमानस्थलको सङ्ख्या एवं आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको व्यवस्थापन गर्न ठूलो वित्तीय स्रोत जुटाउनुपर्ने हुन्छ ।

यात्रु सेवा सुविधा शुल्क

दुई वर्ष उमेर नाघेका प्रत्येक हवाई यात्रुलाई अन्तर्राष्ट्रिय उडानमा मूल्य अभिवृद्धि करसहित प्रतियात्रु तीन हजार, आन्तरिक उडानमा पाँच सय (अन्तर्राष्ट्रिय विमानस्थलमा) र चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतम बुद्ध, तेन्जिङ हिलारी (लुक्ला), जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा चार सय तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमीकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामीडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा (जुफाल), डोल्पा (मसिनेचौर), डोटी, बैतडी, रुकुम (सल्ले), रुकुम (चौरजहारी), बझाङ, र साँफेवगर विमानस्थलमा तीन सय र माथि उल्लिखित बाहेकका विमानस्थलमा दुई सय लाग्नेछ । विमानस्थलको धावनमार्ग कालोपत्रे भई पक्की धावनमार्गबाट सेवा सञ्चालन भएको अवस्थामा तीन सय, आन्तरिक विमानस्थल स्तरोन्नति भई अन्तर्राष्ट्रिय भएमा तीन हजार लाग्नेछ । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रुले यात्रु सेवा सुविधा शुल्क हवाई टिकट खरिद गर्दाकै बखत वायुसेवा सञ्चालन संस्थालाई बुझाउनु पर्नेछ र उडान रद्द भएमा वायुसेवा सञ्चालन संस्थाले सम्बन्धित यात्रुलाई शुल्क फिर्ता गर्नुपर्नेछ ।

आगन्तुक प्रवेश शुल्क

विमानस्थल कार्यालयले प्रवेश अनुमति दिएको क्षेत्रमा प्रवेश गर्ने व्यक्ति वा सवारीसाधन प्रवेशबापत शुल्क बुझाउनु पर्नेछ । त्यस्तो शुल्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको भिजिटर्स डेकमा प्रवेश गर्दा पचास रुपियाँ, अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको भिजिटर्स डेकमा बीस रुपियाँ र अन्य विमानस्थलको भिजिटर्स डेस्कमा दस रुपियाँ, अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा प्रवेशका लागि जारी हुने प्रवेश पासबापत प्रत्येक दुई वर्षको एक हजार पाँच सय रुपियाँ लाग्ने र प्रवेश पास हराई पुनः बनाउनु परेमा तीन हजार रुपियाँ प्रवेश बुझाउनु पर्नेछ । आन्तरिक विमानस्थलको निषेधित क्षेत्रमा प्रवेशका लागि जारी हुने प्रवेश पासबापत प्रत्येक दुई वर्षका लागि पाँच सय रुपियाँ र उक्त प्रवेश पास हराई पुनः बनाउनु परेमा एक हजार रुपियाँ लाग्नेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा हलुका सवारीसाधनका लागि प्रतिदिन दुई सय पचास रुपियाँ, प्रतिमहिना दुई हजार पाँच सय रुपियाँ र प्रतितीन महिना पाँच हजार रुपियाँ, ठूला सवारीसाधन बस आदिका लागि प्रतिमहिना दुई हजार पाँच सय रुपियाँ र प्रतितीन महिना पाँच हजार पाँच सय रुपियाँ सवारीसाधन प्रवेश शुल्क लाग्नेछ । अन्य विमानस्थलमा सवारीसाधन प्रवेश पासबापत उल्लिखित शुल्कको आधा दस्तुर लाग्नेछ । 

विज्ञापन शुल्क

विज्ञापनका लागि निर्धारण गरेको अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा स्थानको आकर्षण, सुरक्षा संवेदनशीलता, उपयोगिता र यात्रुको आवतजावतलाई दृष्टिगत गरी विज्ञापन शुल्क तोकिएको छ । अन्तर्राष्ट्रि«य विमानस्थलको अन्तर्राष्ट्रि«य तथा आन्तरिक टर्मिनल भवनभित्र प्रतिमहिना प्रतिवर्गमिटर पाँच हजार रुपियाँ, अन्तर्राष्ट्रि«य विमानस्थलको कार्गो टर्मिनल भवनभित्र प्रतिमहिना प्रतिवर्गमिटर तीन हजार रुपियाँ र अन्तर्राष्ट्रि«य वा आन्तरिक टर्मिनल भवनबाहिर विमानस्थल क्षेत्रभित्र प्रतिमहिना प्रतिवर्गमिटर एक हजार छ सय रुपियाँका दरले बढाबढ प्रक्रियाद्वारा कायम हुन आउने रकम विज्ञापन शुल्कबापत बुझाउनु पर्नेछ । त्यस्तै अन्तर्राष्ट्रि«य वा आन्तरिक टर्मिनल भवनबाहिर विमानस्थल क्षेत्रभित्र कुनै किसिमको व्यानर, प्लेकार्ड आदि अस्थायी रूपमा राख्न प्रतिदिन प्रतिवर्गमिटर एक हजार रुपियाँ शुल्क लाग्नेछ । 

चलचित्र छायाङ्कन शुल्क

कुनै व्यक्ति वा संस्थाले विमानस्थलबाट अनुमति लिई विमानस्थल क्षेत्रभित्र चलचित्र, भिडियो चलचित्र वा विज्ञापन आदि छायाङ्कन गरेबापत प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई प्रत्येक छ घण्टाको एक पटकको दरले अन्तर्राष्ट्रिय विमानस्थलमा पन्ध्र हजार रुपियाँ र आन्तरिक विमानस्थलमा सात हजार रुपियाँका दरले चलचित्र छायाङ्कन शुल्क लाग्नेछ ।

भवन तथा कोठा बहाल शुल्क

प्राधिकरणले विमानस्थल क्षेत्रभित्र वा बाहिर रहेको भवनमा वायुसेवा सञ्चालन संस्थालाई वायुसेवा सञ्चालनका लागि अत्यावश्यक स्थान वा कोठा उपलब्ध गराएबापत भवन तथा कोठा बहाल शुल्क लगाउनेछ । यस्तो शुल्क अन्तर्राष्ट्रिय विमानस्थलको भवन तथा कोठा हकमा अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेक इन एरिया बाहिर प्रतिमहिना प्रतिवर्गमिटर एक हजार आठ सय रुपियाँ, चेक इन एरियामा प्रतिमहिना प्रतिवर्गमिटर दुई हजार चार सय रुपियाँ, आगमनतर्फ प्रतिमहिना प्रतिवर्गमिटर तीन हजार रुपियाँ, प्रस्थानतर्फ प्रतिमहिना प्रतिवर्गमिटर तीन हजार छ सय रुपियाँ, स्टेराइल एरियामा प्रतिमहिना प्रतिवर्गमिटर छ हजार रुपियाँ र अपरेसन एयरलाइन्स बिल्डिङमा प्रतिमहिना प्रतिवर्गमिटर दुई हजार १६० रुपियाँ भवन तथा कोठा बहाल शुल्क लाग्नेछ ।

अन्तर्राष्ट्रि«य विमानस्थलको आन्तरिक टर्मिनल भवन तथा कार्गो टर्मिनलमा प्रतिमहिना प्रतिवर्गमिटर एक हजार दुई सय रुपियाँ, आन्तरिक विमानस्थलतर्फका विराटनगर, तेन्जिङ हिलारी (लुक्ला), नेपालगञ्ज विमानस्थल टर्मिनलको परीक्षण एरिया बाहिर प्रतिमहिना प्रतिवर्गमिटर तीन सय रुपियाँ, परीक्षण एरियामा ३६० रुपियाँ, परीक्षण एरियापछिको प्रस्थान एरियामा चार सय रुपियाँका दरले र अन्य क्षेत्रमा २५० का दरले, चन्द्रगढी, राजविराज, जनकपुर, सिमरा, भरतपुर, जोमसोम, दाङ, सुर्खेत र धनगढी विमानस्थलको परीक्षण एरिया बाहिर प्रतिमहिना प्रतिवर्गमिटर दुई सय रुपियाँ, परीक्षण एरियामा २५० रुपियाँ, परीक्षण एरियापछिको प्रस्थान एरियामा तीन सय रुपियाँका दरले र अन्य क्षेत्रमा १५० रुपियाँका दरले, अन्य विमानस्थलमा प्रतिमहिना प्रतिवर्गमिटर १८० रुपियाँ, अन्तर्राष्ट्रि«य विमानस्थल क्षेत्रभित्रको अन्य कुनै भवन, भवनको कुनै भाग वा कोठामा प्रतिमहिना प्रतिवर्गमिटर एक हजार रुपियाँ भवन तथा कोठा बहाल शुल्क लाग्नेछ ।

अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा

व्यावसायिक, कृषि, गल्फ कोर्ष तथा अन्य खेलकुद, इक्विपमेन्ट यार्ड, फ्लाइङ स्कुल आदिको प्रयोजनमा प्रतिवर्ष प्रतिवर्गमिटर छुट्टाछुट्टै जग्गा बहाल शुल्क कायम गरिएको छ । प्राधिकरणले अवतरण (ल्यान्डिङ) सेवा शुल्क, गृह आश्रय (हाउजिङ) सेवा शुल्क, भूमिस्थ प्रबन्ध सेवा शुल्क, सवारीसाधन विसान सेवा शुल्क, सञ्चालन तथा उड्डयन सहायक सेवा शुल्क, मालसामान (कार्गो) ढुवानी शुल्क, यात्रु सेवा सुविधा शुल्क, प्रवेश शुल्क, उद्धार तथा अग्नि निवारण सेवा शुल्क, हवाई इन्धन सेवा शुल्क, क्याटरिङ सेवा शुल्क, मालसामान (कार्गो) प्रबन्ध सेवा शुल्क, ट्रान्जिट कार्गो सेवा शुल्क, यात्रु परिवहन सेवा शुल्क, वायुयान आश्रय गृह (ह्याङ्गर) बहाल शुल्क, विज्ञापन शुल्क, व्यावसायिक महìवको कक्ष (सीआईपी रुम) प्रयोग शुल्क, ब्यागेज स्क्रिनिङ शुल्क, एरोनटिकल अपरेसन कन्ट्रोल कम्युनिकेसन (एओसीसी) शुल्क, टर्मिनल उपकरणको साझा उपयोग तथा ब्यागेज रिकन्सिलेसन प्रणाली सेवा उपयोग शुल्क, चलचित्र छायाङ्कन शुल्क, भवन तथा बहाल शुल्क, जग्गा बहाल शुल्क र अन्य सेवा शुल्क उठाउन पाउने व्यवस्था नियमावलीमा गरिएको छ ।