वैशाख १ गते काली/कर्णालीमा बिसुपर्व मनाइन्छ । यो त्यस क्षेत्रको मौलिक चाड हो । खस आर्य सभ्यताको सुरुवात बिसुपर्वबाट भएको भनेर योगी नरहरिनाथले २०२८ साल वैशाखमा बझाङस्थित तलकोटको एक सभामा बताउनुभएको थियो । वसन्त ऋतुमा मनाइने भएकाले मानव सभ्यताको सुरुवातसँगै मानिस र वीज वनस्पतिबिचको सम्बन्ध कति प्रगाढ हुन्छ भन्ने अर्थ पनि यस पर्वले दिन्छ । सुदूरपश्चिमको भूगोल देशका अन्य छ प्रदेश झैँ देखिए पनि केही विशेषता भिन्न छन् । यो भिन्नता वीज वनस्पति र प्राकृतिक स्रोतसाधनमा रहेको छ । नयाँ वर्ष मनाउने तरिका पनि भिन्न छ । अझ सांस्कृतिक परम्पराका कारण केही पृथक् पनि छ; जसमध्ये एउटा पर्व हो बिसु । पहाडी मूलका मानिसले यो पर्वलाई बिसु भन्ने गर्छन् । तराईका मानिसले ‘शिरुवापावेन’, ‘जुडशीतल’ या ‘वाइसपर्व’ भन्छन् । दार्चुलाको उत्तरी सिमानामा बसोबास गर्ने सौका समुदाय र बझाङको उत्तरी सीमा साइपाल गाउँपालिकास्थित धुलीका बासिन्दाले ‘विसौँ’ भन्छन् ।
बैतडी, दार्चुला, डडेलधुरादेखि कर्णाली प्रदेशको हुम्ला, जुम्ला, कालीकोटसम्म पनि बिसुपर्व फैलिएको छ । नयाँ वर्षको पहिलो दिन भएकाले मिठो खाने, राम्रो लगाउने, आपसमा शुभकामना आदानप्रदान गर्ने त भई नै हाल्यो; वैशाख सङ्क्रान्तिको बिहान धारा, कुवा वा पँधेरोमा नुहाउँदा शरीरमा वर्षभरि विष नलागोस्; खटिरा नआओस् वा कुनै पनि रोग नलागोस् भनेर तितेपाती दलेर मात्र नुहाइन्छ । आयुर्वेदका ज्ञाता खप्तड स्वामीले तितेपाती जटिल रोगको पनि औषधी हो भन्नुभएको छ । यसै गरी रामरमिताका लागि देवरले भाउजूलाई, भाउजूले देवरलाई पानीमा भिजाएको सिन्नु (सिस्नु) लगाउने चलन छ । यति मात्र कहाँ हो र; बिसुपर्व स्वतन्त्रताको पर्व पनि हो भन्दै यस दिन सानाले ठुलालाई झ्याम् झ्याम् सिस्नु लगाउने गर्छन् । यो पनि आयुर्वेदिक क्षेत्रमा ठुलो थेरापी हो भनी यसका ज्ञाता बताउँछन् ।
यो बेला दहीचामल खाइन्छ । दहीचामललाई गर्मीमा शीतलता दिने, साइतको प्रतीक पनि मानिन्छ । दहीचामल बिसुपर्वका दिन अवश्य खानु पर्छ । दहीचामल पनि घरकी ज्येष्ठ गृहिणीले भिजाउने प्रचलन रहिआएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका नरनारी रामरमिता गर्न र खानपिन गर्न धेरै अगाडि छन् भनी लोकसंस्कृतिविद् मानबहादुर सिंह पहाडीले एक प्रसङ्गमा बताउनुभएको थियो । हुन पनि देउडा, मागल संस्कृतिमा हुरुक्कै हुने, लगड, लाउन, बावर प्वाधुलो आदि खानपिनमा पनि अग्रसर हुने काली/कर्णालीका मानिसको पुरानो चलन हो । अझ महिला यो काममा दक्ष देखिन्छन् । वटुक र चुकानी बिसुपर्वको महत्वपूर्ण खाना हो । मास पिसेर घिउमा पकाएको परिकारलाई वटुक भनिन्छ; जुन गोलाकार र बिचमा प्वाल पारिएको हुन्छ । अमिलोमा वटुकलाई भिजाएपछि सारै मिठो हुन्छ । सम्झँदा पनि जिब्रो रसाउँछ । परापूर्वकालमा खप्तड स्वामीलाई बझाङ छान्ना दारुगाउँका कृष्णबहादुर खड्का र उहाँका परिवारले वटुक खुवाएको, बाबाले यसको चर्चा पनि गरेको प्रसङ्ग रहेको छ । लगड, लाउन, निशास्या, प्वाधुलो, काँक्राेको राइतो, बाबर आदि स्थानीय परिकारको पनि चर्चा हुन्छ यो बेला ।
यसै गरी वसन्त ऋतु हार्दिकता बाँड्ने नयाँ जीवनको सुरुवाती बेला हो । नयाँ पालुवा पलाउने, नयाँ बालीनाली भित्र्याउने बेला पनि भएकाले बिसुपर्वको रौनक गाउँघरमा बिर्सिनसक्नु हुन्छ । कोइली र न्याउलीको प्रकृतिप्रिय आवाजले मानिसलाई मातृभूमिप्रति मायाको बोध गराउँछ । झिम्केउणा गीतसङ्गीत यसको ज्वलन्त उदाहरण हो । महिला आपसमा जम्मा भएर मातृभूमिका गाथा झल्किने गीत गाउँछन्; जसलाई झिम्केउणा भनिन्छ । यो देउडा गीतभन्दा फरक हुन्छ । यस्तै बिसुपर्वलाई पुतली र लौरो सेलाउने पर्व पनि भनिन्छ । एकाघर धुरीभित्र जति जना पुरुष छन्; त्यति सङ्ख्यामा पुरुषको उचाइ नापेर या अन्दाजका भरमा जङ्गलबाट लौरो ल्याइन्छ । त्यसलाई भगवान् शिवजी मानेर विधिपूर्वक फूलअक्षताले पूजा गरिन्छ । यसपछि बिसुचौरमा गाउँका सबै लौरा जम्मा गरी पाँच पटक पुनः दहीचामलले पूजा गरिन्छ । प्राचीन समय सम्झेर बाँदर बनी केही मानिस लौरो पूजा गर्ने बेला झम्टन पनि आउँछन् । यसबेला निकै रामरमिता हुने गर्छ । श्रद्धापूर्वक ढोगेर पूजा गरिएका लौरा फेरि आआफ्ना घर लगिन्छ ।
पुतली सेलाउनु बिसुपर्वमा महिलाको महत्वपूर्ण काम हो । पार्वतीको सम्झनामा प्रत्येक घरका महिलाको सङ्ख्या हेरी गाउँमा पुतली बनाएर सामूहिक पूजा गरिन्छ । आठ/नौ दिनसम्म पूजा गरिएका ती पुतलीलाई दुधले नुहाई नयाँ लुगा फेरेर दहीचामललगायत मिष्ठान्न भोजन गराइन्छ । अनि डोलामा हाली पवित्र तलाउमा विसर्जन गरिन्छ । किंवदन्ती अनुसार भदौ महिनामा गौरामाता सेलाउने ठाउँमै यो पुतलीलाई सेलाउनु पर्छ । घरमा खानपिन भएपछि बिसुचौरमा लौरा र पुतली नचाइन्छ, अनि सेलाइन्छ । त्यसपछि गाउँका सबै जना भकुन्डो खेल्छन् । दुई पक्ष भएर भकुन्डो खेलिन्छ । जित्नेलाई फूलमालाले स्वागत गरिन्छ । अब सुरु हुन्छ, मौलिक खेल देउडा । महिला र पुरुषका बेग्लाबेग्लै खेल सुरु हुन्छन् । खेलमा वर्षभरि भएगरेका राम्रानराम्रा घटना बिसुको देउडाखेलमा झल्किन्छन् । कुनै गीत मार्मिक, कुनै गीत व्यङ्ग्य, कुनै भने राजनीतिक हुन्छन् । रमिते भरिभराउ भएको देउडा खेल्ने चौर इन्द्रेणी झैँ रङ्गीन देखिन्छ । सात/आठ घण्टासम्म आपसमा सवालजवाफ भइरहने हुँदा सबै वयका मानिस चाख मानी सुनिरहन्छन् ।
यो बेला नयाँ हिउँदेबाली भित्र्याउनुभन्दा पहिले गाईको गोबर टाँसेर घरको मूलढोकामा जौका बाला लगाउने चलन पनि छ । यो कार्य पनि वैशाख सङ्क्रान्तिमा सम्पन्न गरिन्छ; जसलाई ‘देलावालो लगाउने’ भनिन्छ । अक्षयतृतीयामा शुभकार्य गर्दा साइत हेर्न नपरे झैँ यो दिन पनि देलावालो लगाउँदा शुभ हुन्छ भन्ने मान्यता रहिआएको छ । बिसुपर्व र नयाँ वर्षको स्वागतका लागि गाउँका मानिसले टाढा टाढाबाट रातो माटो र कमेरो बोकेर ल्याउँछन् । गाउँका महिलाले एकआपसमा सहयोग गरेर रातो माटो र कमेरोले बाबियोको कुचो प्रयोग गरेर घर सिँगार्छन्; जसलाई काली/कर्णालीमा घर छिप्नु भनिन्छ । तराईमा पनि थारू जातिले घर लिपपोत गरेर चिटिक्क पार्छन् । ढोका र वरिपरि भगवान्, चराचुरुङ्गी र प्राचीन शैलीका चित्र कोर्ने गरिन्छ; जसलाई स्थानीय भाषामा ‘सुहार्नु’ भन्छन् । यसले नयाँ वर्षलाई स्वागत गरेको भन्ने बुझिन्छ ।
अहिले गाउँघरमा मानिसको बाक्लो उपस्थिति देखिँदैन । अधिकांश घरका ढोका ताला लगाएका, जमिन बाँझो रहेको देख्दा मन खिन्न हुन्छ । ती मानिस काठमाडौँ, धनगढी, नेपालगन्ज, पोखरा, भैरहवा, विराटनगरलगायत शहरी बस्ती वा विदेशमा जीवन गुजारा गरिरहेछन् । मानिस जहाँ बसे पनि आफ्नो संस्कृति र संस्कार आफैँसँग लिएर गएका हुन्छन् । नेपालगन्जको रुपैडिहा, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट बिसुपर्व मनाउन सयौँ मानिस भारतका विभिन्न ठाउँबाट स्वदेश फर्किरहेका देखिन्छन् । काली/कर्णालीका मानिस काठमाडौँ र पोखरामा पनि धेरै छन् । विगत २५ वर्षदेखि देउडा समाजले काठमाडौँमा विधिवत् रूपमा मनाउँदै आएको बिसुपर्वमा उनीहरू सहभागी हुन्छन् ।