राधाकृष्ण डुम्रे
वालिङ, असोज २१ गते । अविरल वर्षासँगै पहिरो जाँदा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका पाँच घर जोखिममा परेका छन् ।
अविरल वर्षासँगै पहिरो जाँदा बायँटारीका ती पाँच घर अगाडि पहिरो गएको छ । वालिङ नगरपालिका – १३ का बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घर अगाडि पहिरो जाँदा ती घरहरु जोखिममा परेको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।
जोखिममा रहेका घरका परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको छ । जोखिममा रहेका मध्ये तीन घर परिवारलाई मगर भवनमा सारिएको छ भने दुई घर आफन्तको घरमा बसेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । घरमा रहेका सम्पूर्ण सामानहरु सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।
घर नै जोखिममा पर्ने गरी पहिरो गएको खबर पाए लगतै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, वडा अध्यक्ष नमलाल डुम्रेलगायत पहिरो स्थलमा पुगेर प्लास्टिकको पाललगायतका सामग्री पहिरो गएको स्थानमा राखेर थप पहिरो जानबाट रोक्ने प्रयास गरिएको छ । सशस्त्र र जनपथ प्रहरीको सहयोगमा प्लाष्टिकहरु बिछ्याइएको छ ।