• १२ साउन २०८१, शनिबार

अनुभूति

दशैँले दिएको पुनर्जीवन

blog

नारीलाई पूजा गर्ने समाजले वास्तविक जीवनमा अपमान गर्यो भनी सहयोगको अनुनय गरेर होइन, त्यसका लागि प्रतिकार गर्ने शक्ति आर्जन गरेर जीवन अघि बढाउने सन्देसको पर्व हो दशैँ । समाज द्वन्द्वमा चल्छ । द्वन्द्व सबै विषयमा जायज छ । नारीलाई श्रीहीन गर्न समाजले अनेक प्रपञ्च रचेको हुन्छ । 

दशैँ नेपालीका प्रमुख चाडमध्ये एक हो । दशैँ वसन्त ऋतु र शरद ऋतुमा गरेर दुई पटक आए पनि शरद ऋतुको दशैँलाई बडा दशैँका रूपमा मनाइन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन जमरा राखेर यस दिनदेखि नवमी तिथिसम्म शक्तिको पूजा गरेर दशौँ दिनका दिन मान्यजनका हातबाट टीका र जमरा थापी नवदुर्गाको प्रसाद ग्रहण गरेर मनाइने यो चाड पूर्णिमासम्म शुक्लपक्ष नै रहने हुनाले मान्यजन टाढा टाढा भए पनि टीका ग्रहण गर्न जाने चलन छ । नवमीसम्मका नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री नामक नवदुर्गाको फरक फरक विधिले पूजा गर्ने, शक्ति माग्ने, आराधना गर्ने गरिन्छ ।

सप्तमी, अष्टमी र नवमीमा महादुर्गा, महाकाली र महासरस्वतीको पूजा आराधना गरिने हुनाले महासप्तमी, महाष्टमी र महानवमी भनिएको छ । यतिखेर देवीको शक्तिको वर्णन गरिएको धार्मिक ग्रन्थ चण्डीपाठ गरिन्छ । दशैँ नारीशक्ति देवीले कुरूप चरित्रमाथि लडाइँ गरी जितेको उपलक्ष्यमा मनाइन्छ । चण्डी पाठ गर्नु, देवीको आराधना गर्नु, हतियारको पूजा गर्नु, देवीको प्रसादका रूपमा जमरा र टीका ग्रहण गर्नुले यो मूलतः नारीशक्तिको प्रशंसा गरिएको पर्व हो । आजका सन्दर्भमा भने यस पर्वलाई विजयादशमी भनेर मान्नुभन्दा बडादशैँ नै भन्नु उपयुक्त हुन्छ । विजय दशमी भन्यो भने दशमी मात्रैले त्यही दशमी तिथिलाई मात्रै बुझाउँछ । पूर्णिमासम्मलाई सम्बोधन गर्न पनि नमिल्ने र विजय शब्दले जित हारको अर्थ प्रदान गर्ने हुनाले यसो भन्नुभन्दा सद्भाव, प्रेम, समभावको पर्वको रूपमा मनाउँदा उपयुक्त होला भन्ने लाग्छ । टीका र जमरा लगाई गच्छेअनुसारको भोजनले रमाएर परिवार एक हुने पर्व निकै महत्वको छ । 

हिजोआज नौ दिनका जमराको मूल्य हामी बुझ्दै छौँ । खासमा जमरा जौबाट मात्र बनाउनुपर्ने हो । कालान्तरमा जौ, गहुँ, धान र मकैको जमरा बनाउन थालियो । नौ दिनका जमरालाई औषधिका रूपमा पनि हेरिन्छ । यसमा भएको रोग प्रतिरोधात्मक शक्तिका लागि नौ दिनका जमरा शिरमा अथवा कानमा सिउरिनाले आरोग्यताको व्यवस्थापन गरेको भनिएको छ । हिजोआज जमरा पेटसँग सम्बन्धित सबै खाले रोगविरुद्ध लड्न सक्ने औषधिका रूपमा र अर्बुद रोगको निवारण गर्छ भनेर प्रयोग गर्न थालिएको छ । यसर्थ जमराको प्रयोग पनि परम्पराले वैज्ञानिक विषयलाई नै अनुकरण गर्न सहयोग गरेको पाइनु गौरवको कुरा हो । 

हिन्दू धर्मावलम्बी रहेका विश्वका सबै ठाउँमा दशैँलाई विभिन्न तरिकाले मनाउने गरिन्छ । नेपाललगायत भारतका अधिकांश भागमा दशैँलाई भिन्न भिन्न तर केही विशेष विषयमा समान तरिकाले मनाइन्छ । स्थान विशेषले दशैँ मनाउने तरिकाहरू फरक छन् । भुटान र बर्मामा पनि दशैँलाई विशेष पर्वका रूपमा मनाइन्छ । देहगुनका मीठा खानेकुरा खाने, राम्रा लुगा लगाउने, पारिवारिक भेटघाट गर्ने, आफन्तजन भेट्ने र आशीर्वाद लिने, पिङ खेल्ने, दशैँका विभिन्न तिथिमा पर्ने मेला पर्व र जात्रा पर्वमा रमाउने मुख्य गतिविधि हुन् । 

म संस्कृतिप्रति आस्था राख्ने मान्छे हुँ । संस्कृतिमा परम्परा, परम्परागत समाज, जीवन, पेसा, इतिहास, आध्यात्मिकता आदि हुन्छन् । संस्कृति मान्ने नाममा कथित चित्र, मूर्ति, मन्दिरप्रति गहिरो आस्था राखेर त्यहाँबाट निस्कनै नसक्ने पनि बनेकी छैन । मैले आधुनिक र भौतिकवादी हुने नाममा संस्कृतिलाई अनादर गरेकी पनि छैन । संस्कृतिमा गहिरो चासो छ । पहिचानका मुद्दामध्ये संस्कृति पनि एक हो । यसलाई समभावमा मनाउनु राम्रो हो । मेरा मनमा दशैँमा आशीर्वाद दिँदा नारी र पुरुषलाई अलग अलग दिइन्छ किन ? भन्ने प्रश्न उठिरहन्थ्यो । यसलाई पनि म आफ्नै ढङ्गमा बुझ्छु । 

 दशैँमा टीका लगाउँदा अग्रजले अनुज नारीलाई आशीर्वाद दिँदा “जयन्ती मङ्गला काली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुते” भनिएको छ । ‘काललाई जित्ने, भक्तका भाव बुझ्ने शक्तिशाली जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नाम गरेका भगवतीलाई नमस्कार’ भनिएको छ । छोरा मानिसलाई आशीर्वाद दिँदा भने ‘द्रोणका छोरा अस्वत्थामाको जस्तो लामो आयु, दशरथको जस्तो सम्पत्ति, रामको जस्तो शत्रुपराजय, राजा नहुषको जस्तो ऐश्वर्य, पवन देवताको जस्तो तीव्र गति, दुर्योधनको जस्तो मान, सूर्यका छोरा कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्यनिष्ठा, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो यश होस्’ भनिन्छ ।

नारीलाई आशीर्वाद दिनुको सट्टामा दुर्गाका शक्तिका कारण नमस्कार गरिन्छ तर पुरुषलाई शक्तिशाली हुने आशीर्वाद दिइन्छ । यसर्थ नारीले दुर्गाको जस्तो शक्ति हुने तिमीलाई नमस्कार भनिएकाले संस्कारमा आफ्नो शक्तिको अर्थलाई बुझ्नुपर्ने र आफ्नो अस्तित्व रक्षाका लागि आफैँ तयार रहनुपर्ने सूचना दिइरहेको विषयमा मनन गर्नुपर्छ । 

महिलाले यौनिक र लैङ्गिक सवालमा आफैँ निर्णायक शक्तिमा पुग्न र आफ्नो रक्षा आफैँ गर्न उत्प्रेरित गरेको छ । नारीलाई पूजा गर्ने समाजले वास्तविक जीवनमा अपमान ग¥यो भनी सहयोगको अनुनय गरेर होइन, त्यसका लागि प्रतिकार गर्ने शक्ति आर्जन गरेर जीवन अघि बढाउने सन्देशको पर्व हो दशैँ । समाज द्वन्द्वमा चल्छ । द्वन्द्व सबै विषयमा जायज छ । नारीलाई श्रीहीन गर्न समाजले अनेक प्रपञ्च रचेको हुन्छ । आफैँलाई चिन्ने, आफूलाई बुझ्ने, आफैँलाई नियाल्ने र समाजमा नारीको अस्तित्वका लागि को ढाल बनिदिन्छ होइन, आफैँ सुरक्षा गार्ड बन्ने भन्ने उत्प्रेरणात्मक भाव सन्देश दशैँले दिइरहेको छ । 

दशैँका सन्दर्भमा मेरा केही अनुभूति छन् । मेरो जन्म दशैँको दशमी तिथिमा भएको हो । दिनभरि टीका लगाएर बेलुका साँझतिर म जन्मिएँछु । दिनभरिको टीका मेरा कारण रोकिएन तर साँझदेखि दशैँको टीका रोकियो । आफ्नै परिवार मात्र होइन, आफ्ना सबै दाजुभाइमा टीका रोकिदिँदा मलाई आशीर्वाद प्राप्त भयो होला त ! तीन दिनमै न्वारान गर्नुपर्ने बाध्यता भयो हाम्रो परिवारलाई । एकातिर न्वारानको हतारो, अर्कोतिर टीका फुकाउनुपर्ने बाध्यता । नियतिको दोष बोक्दछु म । समाजको प्रवृत्ति र गति अनि प्रकृतिको गतिलाई पनि कहिलेकहीँ खुब तालमेल भइदिएको भए हुन्थ्यो जस्तो लाग्दो रहेछ । 

ताप्लेजुङ जिल्लाको साब्लाखुमा मेरो बाल्यकालको पूर्वार्ध बित्यो । हामी केटाकेटीलाई केही अभाव महसुस थिएन । हाम्रो परिवार कोदोको परिकारसहित मकै र धानको चामल मिसाएर जसोतसो दुई छाक खान सक्ने परिवारको थियो । दशैँमा कसैसँग तुलना गर्नका निम्ति मध्यम र उच्च मध्यम परिवारसँग हामी केटाकेटीको सङ्गत थिएन । दशैँ इन्द्रियादि अनुभूतिमा आउँथ्यो उसबेला । 

यो समय २०३० को दसकको पूर्वाद्र्ध थियो । केटाकेटी हुँदा आएको दशैँको स्मरण ताजा हुने रहेछ । अझै पनि पारिला घाम लाग्दा बिहान सखारै ढिकीको आवाज सुनिरहेको जस्तो, मध्यान्हपछि बाटो सफा गर्ने नगराको ध्वनि बजिरहेजस्तो हुन्छ । दशैँ चारवटा कुरामा रोमाञ्चक भएर आएको सम्झना छ । नयाँ धानका ढिकीमा कुटेका चिउराको वास, नगरा बजाउँदै गाउँका मान्छेले गाउँको बाटो सफा गरेको, आमा भाउजू, दिदीहरूले रातो माटो र कमेरो माटो दशैँका लागि भनेर जोहो गरेको र नयाँ लुगा सिलाउन काँधमा मिसिन बोकेर लुगा सिलाउने काका आएर सिकुवामा हामी केटाकेटीलाई फुर्क्याई फुर्क्या लुगा नापेको सम्झना कहिल्यै स्मृतिबाट हराउँदैन । यसबीचमा कैयौँ राम्रा लुगा लगाइयो होला तर बुट्टे जामा र थैलीभन्दा राम्रा कुनैको सम्झना छैन । कति मीठा खानेकुरा खाइयो होला तर आगामा हाँडीमा भुटेका धानलाई ढिकीमा कुटेका चिउराको माम्री जत्तिको मीठो बास्ना भएको अरू खानेकुराको सम्झना छैन । आमा, दिदी र भाउजूहरूले लिपेका रातो र कमेरो माटाको चमकभन्दा राम्रो चमक त्यसपछि कहिल्यै लागेको रहेनछ सम्झेर ल्याउँदा । कयौँ मीठा ध्वनि गीत सङ्गीत सुनियो तर अहिले लाग्छ ती नगराको जस्तो ध्वनि अब कहिल्यै सुनिँदैन होला ।

कम्मरको पटुकामा हँसिया सिउँरेर आमा दिदीहरू, हातमा खुर्पा, कम्मरमा चमक्क चम्कने खुकुरी बोकेर नगराको सुमधु्र ध्वनि पछ्याउँदै गाउँको बाटो सफा गर्न जाने दाजुहरूलाई कलिला अबोध पाइतालाका भरमा बाटो सफा गरेको हेर्न गएको सम्झना मनभरि छ । अग्रजहरूको रमाइलो आज सम्झँदा आफ्नैजस्तो लाग्दोरहेछ । बाटाका भत्केका ढुङ्गा मिलाउनु, रुखका बुट्यानले हालेका हाँगा बाटातिर आएका छन् भने चिटिक्क पारेर काट्नु, चौतारामा गाउँलेले ल्याएका मकै, भट्मास, गुन्द्रुकको अचार, उसिनेका फर्सी र स्कुस, दही, मोही खानु, चाम्रे र गुन्द्रुकको अचार खानु, ठट्टामा रमाएर हाँस्ने गर्दा कति रमाइलो देखिन्थ्यो दशैँ । हामी केटाकेटी पोल्टामा अलिकति खानेकुरा राखिदिँदा ठूला मानिसजस्तै ठान्थ्यौँ आफूलाई । दशैँ हामी बालबालिकालाई आँखामा आउँथ्यो, स्वादमा आउँथ्यो, गोडामा आउँथ्यो, आङमा आउँथ्यो, मनमा आउँथ्यो ।

वास्तवमै दशैँ बालबालिकाको पर्व हो, समाजसेवाको पर्व हो, सद्भाव र सहअस्तित्वको पर्व हो जस्तो लाग्छ मलाई । दशैँसँग मेरा बाल्यकालका यी रोचक सम्झनाजस्तै सबैका ताजा सम्झना होलान् तर मलाई यी विशेष लाग्छन् । मेरो स्मृतिले टीका लगाएर पैसा सङ्कलन गर्न हौसिएको विषयलाई प्राथमिकतामा राखेको रहेनछ । आफन्तहरू टाढा टाढा भएकाले पनि होला । घरैमा हजुरआमाले पाँच पैसा हातमा राखिदिँदाको आनन्द भने आइरहन्छ । 

दशैँमा बाँसका चार अथवा छवटा लिङ्गामा माथि जुवा राखी बाबियोको लठ्ठामा पिङ हालिन्थ्यो । यो दशैँको एउटा संस्कार नै भएको छ । गाउँमा साना बालबालिकालाई झगडा गर्ने भएकाले घरमा दलिनमा पिङ लगाइदिने चलन छ । केटाकेटी पनि जता हुल छ त्यतै जान मन गर्ने होला सायद म पनि घरमा लगाइदिएको पिङ खेलिनछु । एक दिन एउटा दुर्घटनाबाट हाम्रो परिवार बँच्यो । म पाँच वर्षभन्दा माथिको चाहिँ थिइनँ तर मेरो ठूलो दाजुको भनाइमा म तीन वर्षकी थिएँ । 

पहाड साब्लाखुको गाउँमा घरमन्तिर राम्रो टारबारी थियो । त्यसमा पिङ हालिएको थियो । दशैँमा टीकाको पहिलो दिन हामी दशैँ मानेपछि पिङ खेल्न गयौँ । सायद मैले पनि पिङ खेल्न झगडा गरेँ कि किन हो, मलाई हातले समात्न नसक्नेगरीको लठ्ठा समात्नुपर्ने भयो । पिङ नै अग्लो र ठूलो थियो । बिस्तारै हल्लाउँदा पनि सायद पर पुग्थ्यो होला । म पिङमा बसेँ, दाजु दिदीले पछाडिबाट मच्चाइदिनु भयो । पिङ भएको बारी तल्तिर ठूलो उखुबारी थियो । लठ्ठा समात्न नसकेर हो वा डरले हो मैले समात्न छोडेँछु । म उखुबारीमा झरेँ ।

एकैचोटि उखुबारीको सम्झना छ तर त्यसपछि मलाई केही थाहा छैन । उखुबारीमा झरेकी त्यो बालिका नरहेकी भए दशैँका मुखमा मेरो परिवारमा कस्तो पीडा हुन्थ्यो होला, आमाबुबालाई प्रत्येक दशैँमा एकचोटि कत्ति नमीठो सम्झना आउँथ्यो होला । दिदी दाजुलाई आफूले गरेको कर्मको फल भनी कत्ति पीडा हुन्थ्यो होला । त्यो बालिकाको ढाड भाँचिएको भए आज के हुन्थ्यो होला ! जे होस्, ढुङ्ग्यान ढाडमा नपरेर उखुबारीमा पर्नाले मेरो ज्यान बच्यो । उखु खेती गर्ने मेरा परिवारका कर्मशील हातहरूलाई धन्यवाद दिन चाहन्छु । 

अर्को एउटा दशैँको सम्झना खुब डर र विजयको भावमा बितेको छ मेरो । म किशोरवयमा प्रवेश गरिसकेकी थिएँ भन्ने सङ्केतका रूपमा त्यसबेला छ महिनाअघि पहिलोचोटि महिनावारी भएको थियो । त्यसपछि महिनैपिच्छे हुनुपर्ने, भएन । दशैँ आयो । दिदीहरू तेरो त दशैँ छेक्लाजस्तो छ भन्नुहुन्थ्यो । नौरथा लाग्यो, दशैँ सुरु भयो, सबै दिन छेकेन । म आनन्दमग्न थिएँ । मधेशमा हामी बसाइँ सरिसकेका थियौँ । गाउँमा पिङ थियो । घरमा दशैँको रौनक थियो । दशैँका टीकाका दिन घरमा घन्चमन्च थियो । टीका लाउन ठूलाबाट सुरु गरियो । आफ्नो पालो निकै ढिलो आउनेवाला थियो । पालो पर्खेर बसेका बेला सललल के बगेको जस्तो भयो । छेक्छ छेक्छ भनेको यही रहेछ ।

छेक्यो नै होला भन्ने लाग्दै थियो । म के बग्यो भनी जाँच्न गइनँ । नजाने अठोट गरेर बसेँ । सायद यस्तै दस वा पन्ध्र्र मिनेटमा पालो आउनेवाला थियो । पर्खें र टीका र आशीर्वाद थापेँ । मनमा कति पनि तनाव थिएन । टीका लगाइसकेर खानेकुरा खाउन्जेल पनि जाँचिनँ । त्यसपछि पिङ खेल्न गयौँ । पिङ खेल्दा लुगा त छिचोलेछ रगतले । सबैले ढाँटेर टीका लगाइस् भनी गाली गर्न खोज्नुभयो । मैले भर्खर त थाहा पाउँदै छु भने । वास्तवमा मैले जाँचेको भए म आफैँलाई पनि ढाँट्न सक्ने थिइनँ । मेरो परिवार महिनावारी बार्ने कट्टर परिवार हो । दशैँलाई छेक्न नदिन मैले बगिरहेको मेरो बाधालाई हेरिनँ र त्यस दिन मैले महिनावारीका कारण दशैँमा टीका लगाउन नपाउने विषयलाई जितेँ । मनमा किञ्चित पनि पीर थाहा पाइनँ मैले । यसर्थ त्यो मेरो जित थियो । तर यो जित हो र ? बाआमाका लागि यो जित होइन । यो त अजिर हो । मैले अजिर गरेँ । बाआमाले पीर मान्नुहोला भन्ने डर लागेको थियो तर यस विषयमा चर्चा नै भएन । त्यसपछि चाडपर्वमा मलाई छेकेको सम्झना छैन । 

मधेश झरेपछि हाम्रो परिवार दुई भागमा बाँडियो । बुबा र जेठो दाजु, हजुरआमा लगायतको आधा परिवार पहाडमै र आमा माहिलो दाजु र हामी स्कुल जाने केटाकेटी मधेशमा थियौँ । हाम्रा लागि दशैँ कोही न कोही भेट हुने आशाले रमाउँथ्यो । रमाउँथ्यो मात्रै तर कहिले त खुसी पनि ल्याउँथ्यो र कहिले ल्याउँदैन थियो । मधेशबाट आमा पहाड जानुभयो भने हामी मधेशका एक्लै हुन्थ्यौँ र पहाडबाट बुबा आउनुभएमा पहाडमा हुनुभएको हजुरआमाको नानी घरमा हुँदैनथ्यो । 

हाम्रामा रेडियो गुन्जिरहन्थ्यो । दशैँ आएको सङ्केत मालश्री धुनले दिन्थ्यो । पहाड मधेश गर्ने गाडी थिएनन् । हिँडेर चार दिनमा घर पुगिन्थ्यो । मालश्री धुन प्रियजनको भेटको सूचना दिएर बज्थ्यो । तर हामी भने दशैँमा कहिले यता मधेशबाट र कहिले उता पहाडबाट बाटो हेर्दाहेर्दै बित्थ्यो । केही वर्षभित्रै हाम्रो परिवार पहाडबाट मधेश पूर्ण रूपमा झर्यो । हामी एक परिवार भयौँ । 

मालश्री धुन ऋतुसङ्गीतका रूपमा गाइने शास्त्रीय सङ्गीत हो । सङ्गीतकारहरूबाट यस धुनलाई शरद ऋतुमा धेरै गाइएकाले ऋतु बुझाउने सङ्गीत भयो तर यो खासमा श्री रागभित्र पर्ने एउटा राग भएको शास्त्रीय सङ्गीत हो भनिएको छ । यो धुन निर्माण गर्न सङ्गीतकारले सा, ग, प तीन स्वर मात्र हुनुपर्नेमा विवादी स्वरहरूलाई मिसाएर यसको मूल मर्म नमर्ने गरी बडो होसियारीपूर्वक सङ्गीतबद्ध गरिएको हो भनिएको छ । देवीको आराधना गरिएको यस शास्त्रीय सङ्गीतलाई शरद ऋतुमा पर्ने दशैँ अगाडि गाइन्छ । शरद ऋतुमा पर्ने पर्व दशैँको अगाडि देवीहरूको आराधना गरेर गाइने मालसिरी शास्त्रीय सङ्गीतले नेपालीहरूको सद्भावको पर्व दशैँको सुखद अनुभूति दिन्छ । नेवारी समाज सङ्गीत परम्परामा अग्रणी छ । यो शास्त्रीय सङ्गीत नेपाली सङ्गीत परम्परामा नेवारबाट प्रारम्भ गरिएको हो । 

शास्त्रीय सङ्गीतको राग मालश्री धुनलाई मालश्री धुन भनिएको छ, यसलाई सङ्गीतकार जुगल डङ्गोलले आफ्ना सङ्गीत गुरुको सहयोगमा यसलाई राग मालसी भनेका छन् । यस धुनले नेपाली शास्त्रीय सङ्गीत संस्कृतिमा एउटा विशिष्टता प्राप्त गरेको छ । मालश्री धुन बज्दा पहिला आनन्द लाग्थ्यो । पछिल्लो चरणमा खोई किन हो ठेस लागेको जस्तो लाग्छ । पहिला मनले सुनिन्थ्यो भने अहिले बुद्धिले सुन्ने गर्छु । 

जब यो राग मालश्री, मालसिरी, मालसी धुन बज्न थाल्छ, नवदुर्गाको आराधना, शीतल, हरिया बालीनालीको मौसम, शरद ऋतुका फूलको महक, सफा आकाश, कामको अलिक हलुङ्गो, बारी, बगैँचा, आकाश, मौसमले दिने आनन्द, दशैँको मीठो आनन्ददायक आगमनको अनुभूति, आफन्तसँगको भेटका मीठा सङ्केत, उत्सवको अनुभव हुन्छ । यो सङ्गीत अर्थात् धुन नै मग्नमस्त, आनन्दमोहक छ । यो धुन शास्त्रीय सङ्गीतबाट ऋतुबोधक सङ्गीतमा परिणत भयो र यसलाई दशैँमा देवीको आराधनामा गाइन थालेपछि दशैँबोधक भएर आयो ।

२०६२/६३ को जनआन्दोलनपछि देशैँभरि पहिचानको आवाजले मूल मुद्दा बनायो । शरद ऋतुको बीचतिर रेडियो, टीभीले मालश्रीको धुन बजाउन थालेपछि एक दिन पूर्वी पहाडको एक साथीले बाहुनको दबदबा सुरु भयो भन्ने आशयले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदा मलाई झसङ्ग बनायो । २०५२/५३ सालतिर म शास्त्रीय सङ्गीत सिक्ने लहडमा थिएँ । शास्त्रीय सङ्गीतको नोट बनाउँदै जाँदा प्रसङ्गवश नेपाली सङ्गीत संसारमा शास्त्रीय सङ्गीतमा नेवार जातिले सिर्जना गरेका धुनहरू रागहरूको कुरा चलेको थियो । 

मैले उत्ति ध्यान दिएको थियो । तर सामाजिक सञ्जालमा भेटेपछि मैले प्रतिक्रिया दिएर प्रष्ट पार्नैपर्छ भन्ने लागेर प्रतिक्रिया दिएकी थिएँ । मैले यो सङ्गीत नेवारबाट नेपाली सङ्गीतमा स्थापित भएको हो भन्ने प्रतिक्रिया दिनुपरेको थियो । त्यस दिनदेखि जब दशैँ आउँछ एक पटक झस्कन्छु । 

संस्कृति व्यवहारको तस्बिर हो । संस्कृति विश्वास पनि हो । जस जसले जुन संस्कृतिको तस्बिर मनमा राखेर बाँचेका छौँ, सबैलाई आफ्नो संस्कृति प्रिय लाग्छ । व्यवहार र विश्वास बदलिँदै जान्छन्, संस्कृतिमा रूपान्तरण हुँदै जान्छ । दशैँ एउटा राजनीतिक चरित्रलाई संस्कृतिका रूपमा विकास गरिएको रहेछ । राम र रावणको राजनीतिक युद्धमा रामको विजयलाई जित्नेको पक्षमा मनाउँदै आइएको पर्वका रूपमा लिन सकिन्छ । 

दशैँ नारी अस्तित्वको प्रश्नसँग जोडिएको पर्व हो । शुम्भ निशुम्भले देवी दुर्गाको सौन्दर्यको बयान गरेर नारीलाई भोग्या सम्झने चरित्रविरुद्ध युद्ध गरेर विजय पाएको दिन हो । नारीलाई कमजोर नसम्झिन, नारीलाई कोमल, सुन्दरता मात्रै नारीको गहना सम्झने चरित्रलाई प्रतिकार गरी विजय प्राप्त गरेको दिन हो । दशैँ मातृशक्तिको स्मरण गर्ने दिन हो । देवीलाई आधार मानेर हेर्दा नारीलाई शक्तिहीन, पराश्रित भएर होइन, साहसी र आँटी भएर स्वावलम्बी हुन प्रेरित गरिएको पर्व हो । दुईवटा राजनीतिक शक्ति राम र रावणका लागि सीताले सिङ्गो जीवन नै बलिदान दिनुपरेको हुनाले नारी शक्तिले आफूलाई दमनात्मक चरित्रसँग लड्न तयार राख्नुपर्ने उत्प्रेरणात्मक पर्व हो । हरेक छोराछोरीले आफ्ना आमाका पक्षमा लड्न तयार गर्नुपर्ने पर्व हो । 

दशैँ अहङ्कार, घमन्ड, शोषण, दमन, अन्यायको अन्त्य र सुशासनको स्थापनाका लागि धन्यवाद दिई मनाइएको पर्व हो । पात्रहरू राम, लक्ष्मण, रावण, इन्द्रजित, सीता, हनुमान आदि थुप्रै थिए । थुप्रै पात्रका आआफ्ना विचार थिए । आआफ्ना अहम् थिए । कसैका अहम् ले कसैलाई फाइदा र कसैलाई बेफाइदा गर्थ्याे । राम क्षत्री थिए, रावण ब्राह्मण । क्षत्रीले ब्राह्मण मारिरहेको थियो । यहाँ हार त ब्राह्मणको भइरहेको देखिन्छ र दशैँलाई अस्वीकार बाहुनले गर्नुपर्ने हो । 

तर यो पर्व जाति विशेषको पर्व नभएर अहङ्कार, घमण्ड, शोषण, दमन, अन्यायको अन्त्य र सुशासनको स्थापनाको हो । आनन्द र वर्षौं भेट नपाएका आफन्तको भेटघाटको पर्व हो । राम र सीताको मिलनको पर्व हो । राम, सीता र लक्ष्मणको घर फिर्तीको उत्सव हो, जहाँ वर्षैँदेखि पारिवारिक मायाले रुखिएका परदेशीहरूको भेट परिवारजनसँग हुँदै गरेको होस् । यही चरित्रलाई मानिसले आफ्नो समाजमा सामान्यीकरण गरेर मिलनको पर्वको रूपमा मनाएको यस उत्सवमा बज्ने धुन विशेषले, रङ विशेषले भन्दा पनि सहभाव, सहअस्तित्व, सद्भावको उत्सवले मुख्य अर्थ राख्छ । परदेश गएका पति र घर सम्हालेर बसेकी पत्नीका बीचको मिलनको पर्व हो, घर दलान रुँघेर बसेकी आमा र सिकुवा नै परदेश मानेर बस्ने बाबुसँग टाढा छुटिगएका छोराछोरी र आफन्तको भेटघाटको पर्व हो । 

टीका अग्रजबाट आशीर्वाद थाप्ने एउट रीत हो, तरिका हो, व्यवहार हो । यो केवल चामल होइन, यो केवल ढोङ होइन । यो संस्कृतिमा मानवीयता, निरोगिताको कामना, वैमनस्यकाे अन्त्य, मिलन, भावनात्मक प्रेम, सहयोग र निराशाको अन्त्य गर्न सहयोग गर्ने महान् उत्सव हो ।

Author

मिश्र वैजयन्ती