• २ असार २०८१, आइतबार

दशैं, पिङ र चङ्गाको सम्बन्ध पितृ देवतासँग

पिङ, चङ्गा उमङ्ग र खुसीको प्रतीक

blog

काठमाडौं, असोज २० गते । दशैं सुरु भएलगत्तै आकाशमा विभिन्न रङ्गका चङ्गा हावामा उडिरहेको देख्न सकिन्छ। बाटो छेउमा पनि थरिथरि रङ्गका बेच्न राखिएका चङ्गा किन्नका लागि मानिसहरूको भीड लाग्ने गरेको छ। 

पिङ प्रतिस्पर्धाको खेल हो : संस्कृतिविद् रामहरि जोशी

संस्कृतिविद् रामहरि जोशीका अनुसार दशैंमा पिङ खेल्ने र चङ्गा उडाउने खेल पहिलेदेखि नै चलेको देखिन्छ। उहाँ भन्नुहुन्छ, “पहिले अहिले जस्तो विकास भएको थिएन, सबै जना सँगै बसेर हाँसखेल गर्दै दशैंमा चङ्गा उडाउने र पिङ खेल्ने गरिन्थ्यो। किनभने हाम्रो पालामा यीबाहेक अरू कुनै खेल थिएन। चङ्गा उडाउने, पिङ खेल्ने, साथीभाइसँग गुच्चा खेल्ने मात्रै हुन्थ्यो। अहिले सबै जना प्रविधिमैत्री बनेका छन् र मोबाइलमा विभिन्न थरीका खेल खेल्छन्। त्यसबेला थिएन र सबै जना यिनै खेलमा रमाउने गर्ने’’, उहाँले भन्नुभयो।  

संस्कृति बिस्तारै हराउँदै गएको उहाँको भनाइ छ। चङ्गाका साथै पिङ संस्कृति हराउँदै जानुमा इन्टरनेट, मोबाइल र आधुनिकीकरण मुख्य दोषी रहेको उहाँको अनुभव छ। उहाँ भन्नुहुन्छ, “आजभोलि सबै जना मोबाइल र इन्टरनेटमै झुन्डेको देखिन्छ, संस्कृति बचाउनै गाह्रो छ। पहिलेको जस्तो चङ्गा उडाउने ठाउँ पनि छैन। चारैतिर ठूला घरले ढाकेका छन्। पहिले घरहरूको उचाइ पनि सानो र एउटै हुँदा चङ्गा उडाउने रमाइलो र सजिलो हुन्थ्यो।” 

उहाँ थप्नुहुन्छ, “वातावरणको हिसाबमा दशैंको समय सबैभन्दा राम्रो मौसम हो। यतिखेर घामहावासँगै बोटबिरुवा पनि फक्रिरहेको हुन्छ। यसै वातावरणमा विजय उत्सवको रूपमा मनाउन सुरु भएको विजयादशमीमा पिङ खेलेर खुसी मनाउनेसमेत गरेको किंवदन्तीमा रहेको छ।” 

चङ्गा उडाउनुलाई एक प्रतिस्पर्धाको खेलको रूपमा पनि लिन सकिन्छ। चङ्गा र पिङ खेल्ने चलन विशेष गरेर वातावरणसँग जोडिएको उहाँको भनाइ छ। 

संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार, चङ्गा उडाउने चलन हाम्रो प्राचीन कालदेखि नै रहिआएको पाइन्छ। विशेष गरेर यो चलन वैदिक कालदेखि नै सुरु भएको अनुमान गर्न सकिन्छ। इन्दजात्राको समय वा जनै पूर्णिमामा नाडीमा लगाएको जनै फुकालेर यम्बध्यमा बाँड्ने चलन छ। यसका साथै सोह्र श्राद्ध लगत्तै दशैं सुरु हुन्छ। त्यसकारण दशैंमा चङ्गा उडाउनुको मुख्य अभिप्राय नै पितृ पक्ष अर्थात् मरेका आफन्तहरू जति पनि छन् ती मृत आत्माको स्वर्गमा सम्बन्ध जोडिने उहाँ भनाइ छ। 

उहाँका अनुसार लौकिक संस्कारलाई पारलौकिक संसारसँग जाेड्ने एक सेतुको रूपमा चङ्गालाई लिन सकिन्छ। चङ्गा उडाउँदा मृत आत्माहरूसँग सम्बन्ध रहन्छ भन्ने धार्मिक आस्था तथा मान्यता रहेको छ। 

यसैसँग यो पिङपनि सम्बन्धित रहेको छ। “कम्तीमा वर्षमा एकपल्ट जमिन छोड्न पर्छ भन्ने गरिन्छ। जमिन छोड्नुको अर्थ स्वर्गमा पुगेझैँ हो अर्थात् यसले स्वर्गीय आनन्द महसुस गराउँछ भन्न सकिन्छ,” उहाँ भन्नुहुन्छ, “पिङले जमिन छाड्न प्रतीक अप्रत्यक्ष रूपमा मृत आत्मासँग अर्थात् पितृ देवताहरूको आर्सीवाद प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ।” 

दशैंमा पिङ र चङ्गा एकअर्काबीच अन्तरसम्बन्धित छन्। पिङ र चङ्गा हर्षोल्लास, उमङ्ग, खुसी, सद्भाव र विजयको प्रतीक हुन्। 

यसबाहेक दशैंमा एक पटक पिङ्ग खेल्नै पर्छ भन्छन् अग्रज संस्कृतिविद् बताउनुहुन्छ। पिङको माध्यमबाट जमिनमा रहेका मसिना किरा फटेङ्ग्राहरू नकुल्ची आकाशतिर उड्नुले वर्षभरी आफूले गरेको पाप काटिने धार्मिक विश्वास छ। 

पछिल्लो समय भने आकाशमा खासै चङ्गा उडेको देखिँदैन। चङ्गा उडाउने बिस्तारै लोप हुँदै गएका छन्।