• ११ असोज २०८१, शुक्रबार

आईएमईमा लुटपाट मच्चाउनेमाथि अनुसन्धान सुरु

blog

लुटपाटमा संलग्न शङ्कास्पद युवकलाई पक्राउ गर्दै प्रहरी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शङ्कास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सदरमुकाम फुङ्लिङको मुख्य बजार वीरेन्द्रचौकस्थित कञ्चन आईएमई सेन्टरमा सोमबार बिहान चारजनाको लुटेरा समूहले लुटपाट मच्चाएका थिए ।

लुटपाटमा संलग्नमध्ये एकजनालाई सोही दिन दिउँसो फुङ्लिङ बजार नजिकैबाट लुटिएको नगद र गरगहानासहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रनाउ राईका अनुसार पक्राउ परेका व्यक्तिबाट करिब छ लाख रुपियाँ नगद र केही सुनका गरगहाना बरामद भएको छ । 

घटनामा संलग्न अन्यको खोजी कार्य तीव्र भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाकट (बन्धक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमई सेन्टरभित्र प्रवेश गरी चारजनाको सूमहले आईएमईका कर्मचारीलाई नियन्त्रणमा लिई नगद र गरगहाना लुटेका थिए । आईएमईमा रहेको करिब ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटिएको बताइएको छ । 

आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ हाल अस्ट्रेलिया भ्रमण रहनुभएको छ । यता, सदरमुकाम फुङ्लिङको मुख्य बजारमै दिनदहाडै यति ठूलो लुटपाट र चोरीको घटना पहिलोपटक भएको स्थानीय बताउँछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।