• १३ साउन २०८१, आइतबार

चालक अनुमतिपत्रको समस्या

blog

आधुनिक प्रविधिको विकास तथा प्रयोगसँगै विभिन्न क्षेत्रमा सुविधा बढ्दैछन् । समस्या कम देखिएका छन् र समस्या समाधानसमेत विगतका दाँजोमा क्रमशः सजिलो हुँदै गएको पाइन्छ । तर हाम्रो देशको कतिपय सरकारी निकायमा भने प्रविधिको विकासले काम झनै सजिलो होलाभन्दा कठिन भएका अनेक उदाहरण छन् । त्यसमध्ये पर्छ, सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्राप्त गर्ने झन्झटिलो तरिका, विधि तथा प्रक्रिया । सवारी चलाउन जान्ने सिपालुलाई पनि सवारी चालक अनुमतिपत्र ‘आकाशको फल, आँखा तरी मर’ जस्तै भएको छ । तरिका, विधि र प्रक्रिया थप जटिल बन्दै गएको जोसुकैले अनुभव गर्न सक्छ । त्यसमा पनि प्रदेशअनुसारको विधि, नियम र तौरतरिकाले सर्वसाधारण अति मर्कामा परेका छन् ।

मुलुकका सात प्रदेशमध्ये बागमती प्रदेशमा लाइसेन्स प्राप्त गर्नु फलामको चिउरा चपाएसरह गाह्रो हुने भुक्तभोगीको भनाइ छ । लाइसेन्स परीक्षाको प्रयोगात्मक तथा लिखित आदि परीक्षा यति साह्रो हुँदा लाइसेन्सको गुणात्मक पक्षले बढावा पाउन्थ्यो तर यहाँ परीक्षा अगावै लाइसेन्सको अनलाइन फर्म भर्न नै हम्मे पर्ने अवस्था सिर्जना हुनुलाई उपयुक्त विषय मान्न सकिँदैन । अनलाइन प्रविधिको प्रयोग सहज, सरल तथा सुविधापूर्ण हुने हुनाले विश्वव्यापी रूपमा यसको व्यापकता बढ्दै गएको हो । तर नेपालको हकमा यो ठीक विपरीत देखिएको छ । हिजोका दिनमा परम्परागत तवरले सहजै भर्न सकिने लाइसेन्सको फर्म अहिले प्रविधिको उन्नत अवस्था हुँदाहुँदै पनि भगवान् भरोसाको अवस्थामा रहनुपर्ने बाध्यता सिर्जना भएको छ । 

यथार्थमा अनलाइन फर्म भर्न नै निकै सकसपूर्ण स्थितिको सामना गर्नुपर्ने अवस्था छ । सर्वसाधारणद्वारा मध्यरातमा पनि अनलाइन फर्म भर्ने प्रयास असफल भइरहेको सन्दर्भमा यातायात कार्यालय अगाडिका नाङ्ले पसलेबाट सहज रूपमा चर्को शुल्कमा अनलाइन फर्म भर्ने कार्य भइरहेको पाइएको छ । यसो हुँदा सवारी चालक अनुमतिपत्र भर्नमा पक्कै पनि गडबडीको आशङ्का गर्नुपर्ने ठाउँ पर्याप्त देखिन्छ । यातायात विभागका कर्मचारी र नाङ्ले पसले, बिचौलियालगायतको मिलेमतोबिना पक्कै पनि यो अनियमितता सहजै हुन सक्दैन । यसमा कसैको द्विविधा रहनु हुँदैन । सेवाग्राहीले लाइसेन्सको अनलाइन फर्म भर्न सास्ती पाउने अवस्था छ भने अर्कोतिर बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदन कर्मचारी अभावको कारण देखाउँदै आउँदो छठसम्मका लागि बन्दसमेत गरेको छ । चार हप्तासम्म अनलाइन फर्म भर्ने कार्य थाती रहँदा दसौँ हजार आवेदक थपिएर थप चाप बढ्ने निःसन्देह देखिन्छ । यसले गर्दा अनलाइन फर्म भर्न सेवाग्राहीले थप कठिनाइ भोग्नुपर्ने निश्चित छ । विशेषगरी बागमती प्रदेशमा देखिएको लाइसेन्स अनलाइन फर्म भर्ने समस्या कोटाका कारणले गर्दा सिर्जना भएको हो । 

काठमाडौँस्थित चार यातायात व्यवस्था कार्यालयका लागि निर्धारण गरिएको दैनिक पच्चीस, छब्बीस सय कोटा अपुग भएकै कारण समस्या उत्पन्न भएको हो । तसर्थ अनलाइन प्रणालीमा कोटा थप गर्न सकिए वा असीमित कोटाको व्यवस्था गर्न सकिए यो समस्या तत्कालै समाधान हुनेमा कुनै शङ्का छैन । प्रदेश सरकारले सेवाग्राहीलाई सुविधा तथा सहजता प्रदान गर्न यसतर्फ तत्कालै कदम चालिहाल्नुपर्नेछ । ‘सिस्टम अपग्रेड’ गरेर अनलाइन कोटाको सङ्ख्या बढाउनु आजको प्रविधिको दुनियाँमा असम्भव कार्य होइन । सेवाग्राहीलाई सुविधा तथा सहजता प्रदान गर्ने इच्छाशक्ति सरकारले राखेमा यो कार्य तत्कालै सम्भव छ । जनताका करबाट चलेको सरकार र कर्मचारी संयन्त्रले सर्वसाधारणको पिरमर्का तत्कालै समाधान गर्नुपर्छ । सवारी चालक प्रमाणपत्र नहुँदा कतिपयले बेरोजगार बस्नु परेको हुन्छ कतिपय विदेश जानबाट रोकिएका हुन्छन् । 

अनलाइन प्रविधिलाई सहजता तथा सरलताको पर्यायका रूपमा लिइनुपर्ने सोच सम्बन्धित निकायका प्रमुख र कर्मचारीमा विकसित हुनुपर्ने महŒवपूर्ण विषय हो । सेवाग्राहीलाई छिटो छरितो सेवा दिने सत्कर्म किन हुन सक्दैन ? अनलाइन प्रविधिका छिद्रबाट फाइदा लिने तŒवका कारण सेवाग्राहीले अनलाइन प्रविधिबाट धेरै लाभ प्राप्त गर्न सकिरहेका छैनन् । तसर्थ यस विषयमा सम्बन्धित निकायले सेवाग्राहीमा पुगेको असुविधालाई गम्भीर रूपमा ध्यानमा राखेर तत्कालै अनलाइन प्रविधिको स्तरोन्नति गर्नेतर्फ तत्काल कदम चालिहाल्नुपर्ने आवश्यकता देखिएको छ । सेवाग्राहीले वास्तविक रूपमा अनलाइन प्रविधिको लाभ अनि सहजता प्राप्त गर्नेमा शङ्का छैन ।