गौतम बुद्धको जन्मस्थल लुम्बिनी आस्था र विश्वासको केन्द्र हो । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र स्थल लुम्बिनी पहिलो रोजाइमा पर्छ । लुम्बिनीको समग्र विकास गर्न सक्ने हो भने नेपालको सबैभन्दा ठुलो शैक्षिक र धार्मिक पर्यटकीय स्थलको केन्द्र बन्ने छ । यसै सन्दर्भमा लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक भएको छ । लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवन शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको देवदहमा झन्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना सार्वजनिक गर्नुभएको हो । सरकारले विश्वविद्यालयलाई २०७७ सालमा झन्डै ९२ बिघा जमिनको भोगाधिकार देवदहमा दिएको थियो । सोही जमिन ओगट्ने गरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गते बसेको आठाैँ सभा बैठकले स्वीकृत गरेको थियो ।
सभाबाट स्वीकृत गुरुयोजना सार्वजनिक गरिएसँगै अब यस गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने छ । गुरुयोजना बनाएर मात्रै हुँदैन यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनु पर्छ । लुम्बिनीमा बौद्ध विश्वविद्यालय बनाउन २०५१ सालमा हस्ताक्षर सङ्कलन गरिएको थियो । लामो प्रयासपछि २०६१ सालमा यो विश्वविद्यालय बनेको हो । सत्प्रयासले यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रूपमा स्थापित हुन सक्छ । यसमा उच्च शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाइमा पुर्याउनु पर्छ । बौद्ध दर्शनका साथै अन्य विषयसमेत अध्यापन गराउँदा विश्वविद्यालय अझै प्रभावकारी रूपमा अघि बढेको छ ।
अर्कोतर्फ लुम्बिनी विकास कोषको गुरुयोजना छिटो सम्पन्न गर्नुपर्ने छ । राष्ट्रिय गौरवको यो गुरुयोजना सुरु भएको ४० वर्ष बितिसक्दा पनि पूरा भएको छैन । लुम्बिनीमा शैक्षिक पर्यटक भित्र्याउन विश्वविद्यालयले प्रवर्धनात्मक कार्यक्रम बनाउनु पर्छ । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै यो परियोजनाबाट प्राज्ञिक साथै पर्यटन विकासमा टेवा पुग्ने छ देवदह गुरुयोजना कार्यान्वयनमा लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने गरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको छ । विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय छात्रावास निर्माण गर्न लागेको छ । यो निर्माण २० महिनाभित्र सकिने अपेक्षा छ । विश्वविद्यालयमा हाल करिब दुई सय विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत छन् ।
सन् १९५४ मा म्यानमारमा भएको तेस्रो अन्तर्राष्ट्रिय विश्व बौद्ध भ्रातृत्व सङ्घको चौथो सम्मेलनभन्दा अघिसम्म लुम्बिनीको विकासमा राष्ट्रिय चासो खासै थिएन । २००८ सालमा लुम्बिनीको विकास गर्ने अभिप्रायले चार सदस्य सम्मिलित लुम्बिनी प्रबन्धक समिति गठन गरिएको थियो । पछि उक्त समितिमा दुई सदस्य थपेर छ सदस्यीय बनाएर लुम्बिनीको विकास र संरक्षणको अभियान सुरु गरिएको थियो । २०१३ वैशाखमा विश्व भ्रातृत्व सङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने निश्चित भएपछि लुम्बिनीस्थित मायादेवी मन्दिर, पवित्र कुण्ड र अशोक स्तम्भको हेरचाह गर्ने जिम्मा लुम्बिनी धर्मोदय समितिलाई दिइयो । मायादेवी मन्दिर, पुष्करणी पोखरी सरसफाइ र जीर्णोद्वार, भैरहवादेखि लुम्बिनीसम्मको सडक र एउटा धर्मशाला बनाउने काम भयो । सन् १९५६ नोभेम्बर १५ देखि २१ सम्म भएको चौथो विश्व बौद्ध भ्रातृत्व सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीलाई लुम्बिनी र कपिलवस्तुको भ्रमण गराएपछि लुम्बिनीप्रति अन्तर्राष्ट्रिय चासो बढेको थियो । यसै क्रममा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ अप्रिल २३ मा लुम्बिनीको भ्रमण गर्नुभयो । महासचिव थान्तको भ्रमणपछि लुम्बिनीको विकासका लागि थप अन्तर्राष्ट्रिय चासो बढ्न थालेको हो ।
लुम्बिनी गुरुयोजनाको वास्तविक संरचना तयार पार्न विश्वविख्यात जापानी आर्किटेक्ट प्रोफेसर केन्जो टाँगेलाई जिम्मा लगाइएको थियो । विश्वकै सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले एक हजार १५५ बिघा जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेको छ । लुम्बिनी गुरुयोजनाभित्र बिहार क्षेत्रमा सबैभन्दा बढी एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा बिहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चिनियाँ र जर्मन बिहार निर्माणका लागि ती मुलुकले ५२ करोड ८० लाख लगानी गरेका छन् । थाइल्यान्डले १० करोड २५ लाख लागतमा बिहार बनाएको छ । गुरुयोजना अनुसार नयाँ लुम्बिनी ग्राम क्षेत्रमा एक अर्ब २७ लाख ६० हजार लगानी भएको छ । अतः समग्रमा लुम्बिनीको एकीकृत विकास गरी पर्यटकीय गन्तव्य बनाउन सरोकारवाला सबैको एकीकृत प्रयास अपेक्षित छ ।