हुम्ला, असोज ९ गते । जिल्लामा उत्पादन हुने स्थानीय रैथाने बाली खरिद हुने भएपछि किसानहरू उत्साहित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्ष सिमकोट गाउँपालिकासँग रैथाने बाली खरिदको लागि सम्झौता भएको भएको हो ।
सिमकोट गाउँपालिका–३ का नोर्ला लामाले आफूले उत्पादन गर्दै आएको स्थानीय बाली बिक्री हुने जानकारी पाएपछि खुसी व्यक्त गर्नुभयो । धेरै वर्ष अगाडिदेखि रैथाने बालीबाट उत्पादन भएको अन्न बिक्री गर्दै आउनुभएका उहाँले पछिल्ला वर्षहरूमा उक्त अन्नपात बिक्री हुन छोडेकोमा बाली लगाउन कम गर्नुभएको थियो । पहिले यी बाली स्थानीय रूपमा एक गाउँबाट अर्को गाउँमा पनि बिक्री हुने गर्थ्यो । तर लिमिटेडको खाद्यान्न आउन थालेपछि उक्त अन्न बिक्री कम हुन थालेको हो । उहाँले यस वर्ष लिमिटेडले नै रैथाने बाली खरिदका लागि गाउँपालिकासँग सम्झौता भएको खबरले किसानलाई उत्साहित बनाएको बताउनुभयो । उहाँले चिनो, फापर, उवा, सिमी लगायतका बाली उत्पादन गर्दै आउनुभएको छ । उहाँले यी बाली बीसभन्दा बढी क्विन्टल उत्पादन गर्दै आउनुभएको छ ।
अर्का वडा नम्बर २ का किसान बली बोहराले पनि घरमा भएका स्थानीय उत्पादनको अन्नपात बिक्री हुने भएपछि सो बाली लगाउन जाँगर थपिएको बताउनुभयो । उहाँले कागुनो समेत उत्पादन गर्दै आउनुभएको छ । स्थानीयले केही कर्मचारी र काठमाडौँका डिपार्टमेन्ट स्टोरका लागि थोरै मात्र निकासी गर्दै आएको बेला लिमिटेडले ठुलो परिणाममा स्थानीय रैथाने बालीको खाद्यान्न खरिद गर्ने खबर अब प्रत्येक हुम्लावासीले बिक्री गर्न पाउनेछन् ।
लिमिटेडसँग भएको सम्झौता अनुसार अब गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकायाले अन्नलाई खरिदको प्रक्रिया अगाडि बढाउने तयारी थालेको बताउनुभयो । गाउँपालिकाले यो सम्झौताबाट रैथाने बालीको उत्पादन र बजारीकरणमा समेत सहयोग पुग्ने र किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिएको छ ।