• १३ साउन २०८१, आइतबार

महोत्तरीमा एक महिलाको रहस्यमय मृत्यु

blog

हत्या गरि फालिएकी मटिहानी १ धिरापुरकी महिलाको शव फेला परेको घट्नास्थलको निगरानी गर्दै प्रहरी । तस्बिर: रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज ८ गते । महोत्तरीको दक्षिणवर्ती मटिहानी नगरपालिकामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । घाँस काट्न गएकी मटिहानी १ धिरापुरकी ४० वर्षिया अमना खातुन मृत अवस्थामा फेला परेको हो । मृतकको शव गाउँदेखि करिब एक किमी पूर्व बिगही खोलाको खोइर भन्ने ठाउँको बाँसकारीमा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

मृतकको शरीरका अङ्गहरूबाट रक्तस्राव देखिएकोले हत्या गरेर मारेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्देश्वर यादवका अनुसार शुक्रबार रातको बीचमा शव फेला परेकोले घटनाबारे अनुसन्धानपछि सत्यतथ्य खुल्ने बताउनुभयो । 

पारिवारिक स्रोतका अनुसार शुक्रबार अपरान्हतिर घरबाट घाँस काट्न मेलापात जानुभएकी अमना घाम डुब्न लाग्दासमेत नफर्केपछि ससुरा नथुनी अन्सारीले धिरापुरस्थित प्रहरी चौकीमा जानकारी गराउनुभएको थियो ।

घटनाका जानकारीपछि प्रहरीले खोजी गर्दा शुक्रबार साढे ८ बजेतिर मृत अवस्थामा फेला परेको थियो । 

प्रहरीले घटनास्थललाई रातीदेखि नै नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ । हत्याको कारण खुल्न सकेको छैन । उहाँको श्रीमान् मो अनसारुल अन्सारी वैदेशिक रोजगारीका लागि केही समयदेखि कतारमा रहेको परिवारले जनाएको छ ।