• १३ साउन २०८१, आइतबार

शिक्षक सोडारीमाथि अख्तियारको आरोपपत्र दायर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ७ गते । कैलालीको धनगढी उपमहानरपालिका –९, देवहरियास्थित शिव निम्न माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा सो आरोप–पत्र दायर गरेको जनाइएको छ । शिक्षक सोडारीले शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेस गरी राहत शिक्षक कोटामा जागिर खाएको अख्तियारले जनाएको छ । 

शिक्षक सोडारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान हुँदा उहाँले भारतबाट एउटै तहका दुई वटा माध्यमिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली बनाई ल्याएको देखिएको आयोगको भनाइ छ । 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने बदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।” 

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीकी- श्रीमती गीता सोडारीले भारतको बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट सो शैक्षिक प्रमाणपत्र बनाई राहत कोटामा लामो समयदेखि जागिर खाँदै आउनुभएको थियो ।