• १३ साउन २०८१, आइतबार

परिमार्जित पाठ्यक्रम लागू भएका विद्यालयको अनुगमन

blog

परिमार्जित पाठ्यक्रमको अनुगमन कर्ता पाठ्क्रम विकास केन्द्रका निर्देशकसहितको टोली । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, असोज ७ गते । अट्ठाइस जिल्लामा परीक्षणका लागि लागू भएको कक्षा ५ को पाठ्यक्रमको अनुगमन गर्न पाठ्यक्रम विकास केन्द्रका निर्देशकसहितको टोली बैतडी पुगेको छ । शैक्षिकसत्र २०७९ बाट सुदूरपश्चिम प्रदेशको बैतडी र अन्य प्रदेशका हिमाल, पहाड र तराई गरी २८ वटा विद्यालयमा कक्षा ५ को परिमार्जित पाठ्यक्रम लागू भएको छ ।

पाठ्यक्रम निर्देशिका अनुसार प्रत्येक १० वर्षमा परिमार्जन हुने पाठ्यक्रमको नमुना सुदूरपश्चिम प्रदेशको बैतडीका तीन विद्यालयमा परीक्षणको रूपमा लागू भएकाले विद्यालय अनुगमन गर्न टोली बैतडी आइपुगेको हो । 

शैक्षिकसत्र २०७९ बाट सुदूरपश्चिम प्रदेशको बैतडीका तीन विद्यालय, कर्णाली प्रदेशको सुर्खेतका तीन विद्यालय, लुम्बिनी प्रदेशको पाल्पाका तीन विद्यालय, गण्डकी प्रदेशको लमजुङका तीन विद्यालय, बागमती प्रदेशका ललितपुर, भक्तपुर र सिन्धुलीका नौ विद्यालय, मधेश प्रदेशका सिराहाका चार विद्यालय र प्रदेश १ को सोलुखुम्बुका तीन विद्यालय गरी विद्यालयमा कक्षा ५ को नयाँ पाठ्यक्रम नमुनाका रूपमा लागू भएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्ण बस्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आगमी शैक्षिकसत्रबाट देशैभरी परिमार्जित पाठ्यक्रम लागू हुने भएकाले परीक्षणका लागि पठनपाठन सुरु भएका देशका २८ वटा विद्यालयको अनुगमन गरेर सुझाव सङ्कलनका लागि हामी बैतडी आइपुगेका हौंं । शिक्षक र विद्यार्थीबाट आएको सुझाव लिएर काठमाडौं फर्केपछि पाठ्यक्रम सुधारका लागि थप छलफल हुनेछ ।”

पाठ्यक्रम विकास केन्द्रका निर्देशक बस्यालसहित पाठ्यक्रम अधिकृत नवीन खड्काले बैतडीमा लागू भएका नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाली, केदार आधारभूत विद्यालय डडचोर र जगन्नाथ आधारभूत विद्यालय नौहाटको स्थलगत अनुगमन गर्नुभएको छ । 

अनुगमनका क्रममा शिक्षकले पाठ्यक्रममा समावेश भएको सूचना प्रविधितर्फ इन्टरनेटको प्रयोग गरेर गर्नुपर्ने क्रियाकलाप सबैका लागि सुविधाजनक नभएको, किताबमा राखिएको चित्र पहिचान गरेर अनुसन्धान गरेर विद्यार्थीलाई पठनपाठन गराउनु पर्दा विद्यालयमा इन्टरनेटको सुविधा नभएकोजस्ता सुझाव आएको अनुगमन टोलीका पाठ्यक्रम अधिकृत नवीन खड्काले बताउनुभयो । 

पाठ्यक्रम विकास केन्द्रको टोलीले यसअघि देशैभर माध्यमिक तहमा लागू भएको कक्षा नौको पाठ्यक्रमका विषयमा पनि बैतडीको निङ्लासैनी माध्यमिक विद्यालयको अनुगमन गरेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।