• १३ साउन २०८१, आइतबार

दशैँ–तिहारलाई ग्रामीण सडक मर्मत गरिँदै

blog

तम्घास समाचारदाता

तम्घास, असोज ७ गते । हिन्दुहरूको महान् पर्व विजयादशमी तथा शुभदीपावलीलगायतका चाडपर्वलाई लक्षित गरी मालिका गाउँपालिकाले ग्रामीण स्तरका सडक मर्मत गर्न थालेको छ। देश तथा विदेशबाट पर्व मनाउन गाउँमा आउने धेरै हुने र सहज रूपमा यात्रा होस् भनेर ग्रामीण स्तरका सडक मर्मत र सफा गर्ने कामलाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो। 

वर्षा पनि अब बिस्तारै रोकिँदै जाने समय भएकाले सहज र सरल रूपमा यात्रा गर्न सकियोस् भन्ने उद्देश्यले ग्रामीण स्तरका सडकलाई मर्मत र सामान्य पहिरो गएका स्थानमा सफा गर्नेगरी डोजर लगाइएको छ। वर्षायामको समयमा सडकलाई निरन्तर रूपमा सञ्चालन गर्न गाउँपालिकाले तीन महिनाका लागि ‘लेन्थ वर्कर’ राखेको थियो।

यता मदन भण्डारी रार्जमार्ग आयोजना प्रमुख शशाङ्क मिश्राले राजमार्ग निरन्तर रूपमा सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताउनुभयो। पहिरो पन्छाउनका लागि सो कार्यालयले एक्साभेटर तयारी अवस्थामा राखेको छ भने कहीँ कतै सडक अवरुद्ध भए तत्काल सडक खुलाउने कार्य भइरहेको छ।