• १३ साउन २०८१, आइतबार

कारागारमा पुस्तकालय

blog

दोलखा समाचारदाता 

चरीकोट, असोज ४ गते । विभिन्न देशमा रहेका १२ जना दोलखाली र दोलखा समाज अस्ट्रेलियासमेतको आर्थिक सहयोगमा दोलखा कारागारमा पुस्तकालय स्थापना गरिएको छ । नेपाल लाइब्रेरी फाउन्डेसन अन्तर्राष्ट्रिय समन्वय समिति आयरल्यान्डका संयोजक चेतराज ओलीको संयोजनमा साढे तीन लाख रुपियाँको लगानीमा पुस्तकालय स्थापना भएको फाउन्डेसनका महासचिव धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन लाख ३१ हजार रुपियाँमा ६५८ थान किताब खरिद गरी पुस्तकालयलाई हस्तान्तरण गरिएको र पुस्तकालयको निरीक्षणपछि थप १९ हजार रुपियाँको किताब खरिद गरी हस्तान्तरण गर्ने तयारी भइरहेको छ । 

कारागारका कैदीबन्दीले किताबसँगै खेलकुदका सामग्रीको पनि माग गरेका छन् । पुस्तकालय पारदर्शी, व्यवस्थित र दिगो सञ्चालनका लागि यहाँ सात सदस्यीय सञ्चालक समिति बनेको छ । समिति संयोजक विष्णु तामाङले भन्नुभयो, “पठन संस्कृतिको विकास गर्न पुस्तकालय भयो, अब स्वास्थ्य ठीक राख्न खेलकुदका सामग्री आवश्यक देखिएको छ ।” 

कारागारको ब्लक ‘ए’मा रहेका ८८ जनामध्ये ५० र ब्लक ‘बी’मा रहेका ५८ मध्ये २१ जनाले पुस्तकालय प्रयोग गरिरहेका छन् । पुस्तक प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । पठन संस्कृतिका लागि पुस्तकालय, स्वास्थ्य तथा मनोरञ्जनका लागि खेलकुदका सामग्री र सीपमूलक उत्पादनका लागि आवश्यक सामग्री उपलब्ध भएमा कारागार सुधारगृहमा परिणत हुने कारागार प्रमुख रामकृष्ण घिमिरेको कथन रहेको छ । 

देशका ७७ वटै कारागारमा पुस्तकालय स्थापना गर्ने फाउन्डेसनको लक्ष्य रहेको छ । उदयपुर, बागलुङ र दोलखामा पुस्तकालय स्थापना भएलगत्तै यसपालिको दशैँपछि थप पाँचवटा जिल्लामा स्थापना गर्ने तयारी भइरहेको जनाइएको छ ।