• ७ पुस २०८१, आइतबार

अजित र राजपुरालाई रोड रेस उपाधि

blog

काठमाडौं रोड रेसमा उपाधि विजेता खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, असोज ३ गते । काठमाडौं रोड रेसको उपाधि पिनाकल कलेजका अजितकुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जित्नुभएको छ । अखिल क्रान्तिकारीद्वारा आइतबार काठमाडौंमा आयोवजना गरिएको पाँच किमि दौडमा पुरुषतर्फ अजितले १७ मिनट ४५.३ सेकेन्ड र महिलातर्फ राजपुराले २० मिनट ३५.७५ सेकेन्डमा दौड सक्दै उपाधि जित्नुभएको हो । 

आठौं संविधान दिवसको अवसरमा आयोजित पुरुषतर्फ पुलिस क्लबका सन्तोस विक्रम विष्ट दोस्रो र त्रिभुवन आर्मी क्लबका मोहनदेव जोशी तेस्रो हुनुभयो । महिलामा पुलिस क्लबकी राममाया बुढा दोस्रो र रेखा विष्ट तेस्रो हुनुभयो ।

विजेता, उपविजेता र तेस्रो हुनेले उपाधिसहित क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । दशरथ रङ्गशालाबाट सुरु भएको रेस थापाथली, माइतीघर, बबरमहल, बिजुलीबजार, नयाँ बानेश्वर हुँदै पुनः दशरथ रङ्गशाला आएर सकिएको थियो । रेसमा पुरुषतर्फ ३६५ र महिलामा ११२ गरी कुल ४७७ जनाको सहभागिता  थियो ।


विजेतालाई पूर्व महान्यायाधिवक्ता एवं अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमनकुमार श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सचिव, अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष रामजीबहादुर श्रेष्ठ, एथलेटिक्स सङ्घका सचिव आरके विष्टलगायतले पुरस्कार प्रदान गर्नुभयो ।