• ८ चैत २०८२, आइतबार

वर्षाले प्याराग्लाइडिङ प्रतियोगिता प्रभावित, अघिल्ला खेलकै आधारमा नतिजा घोषणा

blog

फडिन्द्र अधिकारी 
लेखनाथ, चैत ८ गते ।
पर्यटनको राजधानी पोखरामा पाँच वर्षपछि आयोजना गरिएको २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप वर्षाका कारण प्रभावित भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण शनिबार तय गरिएका प्रतिस्पर्धा हुन नसकेपछि आयोजकले अघिल्ला दिनका खेल र अभ्यास उडानका आधारमा साँझ विजेता घोषणा गरेको हो ।

अघिल्लो दिनकै नतिजाका आधारमा पुरुषतर्फ भारतका अक्षय कुमार पहिलो, चीनका झोउ चेन दोस्रो र भारतकै इमान रुम्टेल तेस्रो हुनुभयो । विजेताहरूले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

महिलातर्फ चीनकी कोङ सियाङ यान प्रथम, नेपालकी दुर्गामाया गुरुङ दोस्रो र भारतकी श्रेयसी तामाङ तेस्रो हुनुभयो । उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

समूहगततर्फ टिम फ्लाई भारकाला प्रथम ठहरियो । उक्त टिममा राहुल राई, अक्षय कुमार, मोहन सिंह र मनिषा उप्रेती रहनुभएको थियो । टिम इन्डो–नेपाल दोस्रो हुँदा यसमा सोनम लदाखी, अर्जुन जलारी, कृष्णबहादुर क्षेत्री र गोपाल ठाकुर सहभागी थिए । टिम नेपाल तेस्रो बन्दै विष्णु तिमिल्सिना, सुमनजंग थापा, रोशन बस्नेत र युवराज सुनार सहभागी थिए । समूहगत विजेताहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुने तालिका थियो । मौसम प्रतिकूल भएपछि शुक्रबार अपराह्नदेखि नै खेल सञ्चालन गर्न कठिन भएको थियो । प्याराग्लाइडिङका लागि घामको ताप र हावाको चाप दुवै अनुकूल हुनुपर्नेमा वर्षा र बादलका कारण सुरक्षा जोखिम बढेपछि खेल स्थगित गरिएको थियो ।

शनिबार दिउँसो ५ बजेसम्म पनि मौसममा सुधार नआएपछि आयोजकले अघिल्ला दिनका खेललाई आधार मानेर विजेता घोषणा गरेको प्रतियोगिताका संयोजक सुनीलबहादुर भट्टराईले जानकारी दिनुभयो । “हामीले मौसम बदलिने पूर्वानुमानका आधारमा बुधबार गरिएको अभ्यास उडानको अङ्कलाई पनि मुख्य प्रतिस्पर्धामा समावेश गर्ने निर्णय गरेका थियौँ,” उहाँले भन्नुभयो, “सोही अनुसार बिहीबार र शुक्रबार भएका उडान तथा अभ्यासको नतिजा जोडेर विजेता छनोट गरियो ।”

प्रतियोगितामा पाँच देशका ६२ पाइलट सहभागी थिए । ना अध्यक्ष अनिल केसीले वर्षाले केही अवरोध पुर्‍याए पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । “पाँच वर्षपछि आयोजना गरिएको यस प्रतियोगिताले पोखराको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः चिनाउन मद्दत गरेको छ,” उहाँले भन्नुभयो ।

पोखरामा हाल ५३ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । अहिलेसम्म ४१६ जना पाइलट दर्ता भएकामध्ये २६५ जना नियमित रूपमा कार्यरत छन् ।