• ८ चैत २०८२, आइतबार

समृद्धिको पहिलो पाइला शिक्षा

blog

आमनागरिकमा संविधान सभाबाट निर्मित संविधान आएपछि देशमा सुशासनको प्रत्याभूति हुने छ, जनताले सुख पाउलान् भन्ने ठुलो अपेक्षा थियो । सीमित टाठाबाठा र तिनका आसेपासेबाहेक अरूमा त्यो लागु हुन सकेन । नातावाद र कृपावादका आधारमा देशका महत्वपूर्र्ण निकायमा नियुक्ति गर्न थालियो । देशभित्रका तमाम क्षेत्रलाई दलीयकरण गर्दै लगियो । ठुलठुला सङ्घर्ष र बलिदानबाट प्राप्त परिवर्तनलाई सुदपयोग गर्न दलीय नेतृत्व चुक्यो । आमनागरिकमा परिवर्तनको आभास हुन सकेन । बदलिँदो समयको मागलाई चिन्न सकेनन् । अहिलेको चुनावी परिणाममा त्यसैको प्रभाव प¥यो । 

हामीले समयमै नागरिक सभ्यता, नागरिक कर्तव्य र नागरिक चेतना हरेक नेता तथा कार्यकर्ताका मनमष्तिष्कसम्म पु¥याउन सकेनौँ । नागरिकको चेतनाको स्तर उकास्न समर्थ भएनौँ । यसमा शिक्षाले के कस्तो भूमिका निर्वाह ग¥यो, त्यो पनि मननीय छ । यस्ता जटिल र अनुत्तरित प्रश्नलाई हाम्रो शिक्षा व्यवस्थाले सहजै जवाफ दिन सक्ने स्थिति देखिँदैन । हामीले बुझ्न जरुरी छ, हाम्रो शिक्षाले यस्ता पक्षमा हिजो के भूमिका खेल्यो, आज के गर्दै छ भन्ने विषयमा गम्भीर हुनु आवश्यक छ । 

शिक्षाको राष्ट्रिय उद्देश्य हिजो कति हासिल भयो, आज कति मात्रामा भइरहेको छ वा त्यसले नागरिकमा के कस्तो प्रभाव छाडेको छ भन्ने जानकारी राख्नु पर्छ । आमप्रवृत्ति र घटनाक्रमले नागरिक चेतना अनुकूल प्रस्फुटन हुन नसकेको सङ्केत गर्छ । परिणामत हाम्रा नेता पनि त्यही नागरिक सभ्यता, चेतना, नागरिक कर्तव्य र जिम्मेवारीबोधबाट विमुख हुन पुगे । अबको पुस्तालाई समयमै नागरिक सभ्यता र चेतनाको ज्ञानसँगै कर्तव्य र अधिकारसहितको सिप विकास गर्न नागरिक शिक्षामै जोड दिनु पर्छ । 

देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएर पनि सुदृढ हुन सकेको छैन भने अर्कातर्फ लोकतान्त्रिक, संवैधानिक तथा सार्वजनिक संस्था सबल र सक्षम छैनन् । कति पटक कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बिचको अन्तरद्वन्द्वले अव्यवस्था नदेखिएको पनि होइन । राजनीतिक नेतृत्वका कारणले देशले विश्वास र लोकप्रियता गुमाउँदै गएको आभास भइरहेको छ । विद्यमानमा लोकतन्त्र र संविधान हाम्रो समस्या होइन, समस्या त दलतन्त्र र नेतातन्त्र हो । जसको प्रयोग गरी सिन्डिकेटतन्त्र मौलायो । यस्ता विकृततन्त्रको अन्त्य गरी समुन्नत लोकतन्त्र र सुसंस्कृत राजनीतिको विकास नै जेनजी पुस्ताको माग हो ।

आज हाम्रो देशले खोजेको सुशासन नै हो । गत भदौ २३ र २४ को जेनजी आन्दोलन पनि कुशासन र भ्रष्टाचारविरुद्ध थियो । सबै विषयको समाधान एकै पटक हुन सक्दैन । यसका लागि गरिनुपर्ने रणनीति के हो ? राज्यका सबै अङ्गको रूपान्तरण कसरी गर्ने ? यस विषयमा गहिरो चिन्तन भने हुन सकिरहेको छैन । युवापुस्तासँग पनि यस सम्बन्धमा खासै योजना देखा परेको छैन । पुराना पुस्ताका कतिपय राजनीतिक नेतृत्वले जेनजी विद्रोहलाई षड्यन्त्रको जामा पैराउन खोजेका आभास दिलाउँछ र आफूले लामो अवधिसम्म देशको शासन सत्ता हाँकेर पनि जनतालाई सुशासन दिन नसकेका कुरामा कत्ति पनि ग्लानि छैन, उल्टो अरूलाई दोषारण गरेर बच्न मात्र खोजे झैँ लाग्छ ।

मुलुक यथास्थितिमा बसिरहन सक्दैन भनेरै नागरिकले चुनावबाट नयाँ म्यान्डेट दिए । युवापुस्ताले जे खोजिरहेको मुलुक त्यही दिशामा लाग्नु पर्छ । पुरानो नेतृत्व क्रमैसँग हट्दै जानु पर्छ । राजनीतिको बागडोर नयाँ युवापुस्तालाई हस्तान्तरण गर्नु पर्छ । नेतृत्वको पार्टी सञ्चालन पद्धति प्रजातान्त्रिक देखिँदैन । सबैजसो दलभित्र समस्या छ । त्यहाँ अनेक गुट, उपगुटबिच अन्तरद्वन्द्व छ । विगतमा चुनावपछि गुटको भागबन्डा र अन्य दलको गठबन्धनको सरकार बनाउनुपर्ने अवस्था विद्यमान थियो । यसले गर्दा गुटीय राजनीति झन् मौलाउँदै गयो । यसले सबैलाई महत्वाकाङ्क्षी बनायो । हरेक ठाउँमा भागबन्डाको राजनीति भयो । त्यसको प्रभाव यो चुनावमा प¥यो । यी सबै समस्याका जड संविधान हो र यसलाई संशोधन गर्नु जरुरी छ भन्ने कुरा विगतदेखि नै उठ्दै आएको हो । अहिले संविधान संशोधन नगरी एउटै दलले बहुमत ल्याएको छ, यसलाई स्वागतयोग्य मान्नु पर्छ ।

संविधान संशोधन स्वाभाविकै प्रक्रिया हो । हाम्रो छिमेकी भारतमा १९४९ देखि अहिलेसम्म झन्डै १०३ पटक संविधान संशोधन भएको देखिन्छ भने चीनमा पनि पटक पटक संशोधन भएको सुन्नमा आएको छ । विश्वकै शक्तिशाली मुलुक अमेरिकामा पनि थुप्रै पटक संविधान संशोधन भएको छ । नेपालमा हालसम्म सात वटा संविधान आइसकेका छन् । संविधान फेर्दैमा मात्र देशको स्थिति सुघ्रिने होइन । नेतृत्व वर्ग नै कुशल र सक्षम नभई देशको अवस्था बदलिँदैन । त्यसैले त धेरै मुलुकले संविधान फेर्नुभन्दा संशोधन गर्नुमै जोड दिएको पाइन्छ । कानुन वर्तमान लक्षित हुने हुँदा भविष्यमा सुधार हुँदै जाने क्रमले निरन्तरता पाएको हुन्छ । कानुन यथास्थितिवादी भए पनि समाज परिवर्तनशील हुने हुँदा तदनुरूपको संशोधन गर्दै लैजानु जरुरी छ ।

अहिले संविधानका केही विषयमा परिवर्तनको खाँचो महसुस भइरहेको छ । जेनजीले चाहेको रूपान्तरण ल्याउन पनि संविधान संशोधनबिना सम्भव छैन । प्रारम्भदेखि नै संविधानको विरोध गर्दै निश्चित राजनीतिककर्मी लागिरहेकै थिए । संविधान संशोधनको कुरामा युवापुस्ता मात्र नभएर सबैजसो राजनीतिक दलले नै इच्छा जाहेर गर्दै आएका छन् ।

युवापुस्ताले देशमा विद्यमान भ्रष्टाचार र अनियमिताको विरुद्ध ठुलो आन्दोलन ग¥यो । आन्दोलनकै बलमा चुनाव भयो । युवापुस्ताकै भावना अनुसारका प्रतिनिधि चुनिएका छन् । अब यसको सही सदुपयोग गर्नु पर्छ । निर्वाचनमा पराजित दलले पनि दलभित्रको गुटीय राजनीति बन्द गरेर एकमतसहित नागरिकमा भिज्न सक्नु पर्छ । पुरानापुस्ता अभिभावक भएर नयाँलाई काम गर्ने बाटो प्रशस्त गरिदिनु पर्छ । युवापुस्ताको भावना भनेको निश्चित पार्टीविशेषको भन्ने हुँदैन, सबै दलमा युवाको बाहुल्य छ । युवा भावनाको प्रतिनिधित्व निर्वाचनमार्फत भएको छ । अब सबै मिलेर यसको सदुपयोग गर्नु पर्छ, कुन दल सत्ता छ या प्रतिपक्षमा भन्ने विषय देश निर्माणमा लागु गर्नु हुँदैन । सबै मिलेर मुलुक निर्माणको पवित्र कार्यमा लागौँ ।

सुशासन सबैभन्दा ठुलो विषय हो । सुशासनबाटै समृद्धि प्राप्त हुने हो । समृद्धि एक्लो व्यक्ति वा दलले चाहेर मात्रै हुँदैन, त्यसका लागि योग्य र सक्षम नागरिकको साथ र सहयोग पनि आवश्यक हुन्छ । राजनीतिक, सामाजिक, आर्थिक, समावेशीलगायतका जिम्मेवारी वहन गर्न प्रोत्साहन गराउने नागरिक चेतनाले नै हो । सचेत नागरिकबिना समृद्धि हासिल गर्न कठिन हुन्छ । यसका लागि शिक्षामा आमूल परिवर्तनको खाँचो छ । शैक्षिक डिग्रीधारी युवाको प्रतिनिधित्व भएको नयाँ संसद्ले अवश्य नयाँ शिक्षा नीति बनाउने छ, त्यही नै देश निर्माणको पहिलो खुड्किलो बन्ने छ ।