• ८ चैत २०८२, आइतबार

हिमपात हुँदा पर्यटक उत्साहित

blog

मुगु समाचरदाता 

मुगु, चैत ८ गते । दुई वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुगुमा यस वर्ष बेमौसमी चैतमा भारी हिउँ परेको छ । गत शुक्रबार बिहानदेखि लगातार हिउँ परिरहेको छ । अक्सर मङ्सिरको अन्त्यतिर पर्नुपर्ने हिउँ चैतमा परेको हो ।

मुगुवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन् । जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पु¥याएको थियो । यहाँ यस वर्ष रारा तालमा हिमपात भएपछि पर्यटक हिउँमा रमाएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार रारा र मुर्माटपमा शनिबारसम्म हिमपात भइरहेको छ ।

रारामा होटेल सञ्चालक शान्ति बुढा रोकायाका अनुसार रारा र मुर्माटपमा बिहानैदेखि हिमपात भएपछि आन्तरिक र विदेशी पर्यटक हिउँ खेल्नका लागि बिहानैदेखि आएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी ऋषिकेश यादवका अनुसार यहाँ अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भएपनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति भएको छैन । उहाँले भन्नुभयो, “रारामा यो आर्थिक वर्षको फागुन मसान्तसम्म ११ हजार १० जना स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।” 

छायानाथ रारा नगरपालिका–८ का स्थानीय विर्षबहादुर रोकायाका अनुसार हिमाली क्षेत्रमा अनुकूल समय हिमपात हुनु स्वाभाविक भएपनि यस वर्ष चैतमा हिउँ पर्दा आश्चर्य लागेको छ । हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पु¥याएको उहाँको भनाइ छ । चैतमा परेको हिउँले उच्च लेकको चरनक्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख भीमचद्र बुढाले जानकारी दिनुभयो । यस वर्षको हिमपातले यहाँ स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्ने कृषि विकास कार्यालय मुगुका प्रमुख केशव अधिकारीले बताउनुभयो ।