• १३ साउन २०८१, आइतबार

कैलाली भजनीमा अझै घर डुबानमै

blog

सोमबार पनि डुबानमा रहेको भजनी–८ का घर । तस्बिर : जयप्रसाद ढुङ्गाना

धनगढी, असोज ३ गते । कैलालीको भजनी नगरपालिकामा तेस्रो दिनसम्म अझै केही गाउँका घरहरू डुबानमै  छन् । 
नदीहरूमै पानीको सतह धेरै नघटेकाले भजनी नगरपालिका–३ र ८ का केही गाउँ अझै डुबानमा छ ।

डुबानका कारण अझै पनि प्रभावितहरू घरसम्म जान सक्ने अवस्था नरहेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिनुभयो । ‘अझै ९/१० गाउँ डुबानमै छन्’, उहाँले भन्नुभयो,‘अन्यतिर पानी घटे पनि मान्छे आ–आफ्ना घरमा अझै फर्कन सकेका छैनन् ।’ आज अलि धेरै पानी घटेमा त्यसपछि केही गाउँका मान्छे घरसम्म पुग्न सक्ने चौधरीले बताउनुभयो । 

शनिबार कान्द्रा, पथरैया, काँढा र मोहना नदीको बाढीका कारण भजनी नगरपालिकाको नौ वटै वडामा डुबान भएको थियो । डुबानका कारण पालिकामा मात्रै पाँच हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् । उनीहरू सडक, विद्यालय, सुरक्षित भवन, पक्की घरको छत लगायतमा बसिरहेका छन् । 

हिजो बेलुकासम्म सबैको उद्धार गरिएको र फास्ट फुडसहित पानी वितरण गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । 

थप एक जनाको मृत्यु

यसैबिच, भजनी नगरपालिकामा बाढीमा डुबेर थप एक जनाको ज्यान गएको छ । हिजो पानीमा डुबेर वडा नम्बर भुरुवाका एक बालकको ज्यान गएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । शनिवार मात्रै गैरी नालामा डुबेर वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरीको ज्यान गएको थियो । 
Author

अविनाश चौधरी