• ११ असोज २०८१, शुक्रबार

तयार भयो सामुदायिक अस्पताल

blog

सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, असोज ३ गते । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६, मुक्लीमा दूधकोसी सामुदायिक अस्पताल भवन सञ्चालनका लागि तयार भएको छ। दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शøयाको अस्पताल निर्माणको काम थालिएको थियो।

विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शøयाको सुविधासम्पन्न अस्पताल १० करोड १० लाख ७२ हजार ७५३ रुपियाँमा तयार भएको हो। गाउँमै राजधानीसरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौँतारिनु नपर्ने थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असीम राईले बताउनुभयो। 

अस्पतालबाट प्रसूतिलगायतका सेवा दक्ष डाक्टरबाट प्रवाह गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो। मातृ शिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश १ कै सुविधासम्पन्न अस्पतालका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ। अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग पनि सहकार्यको सम्झौता भएको छ। 

दुर्गम गाउँमा अस्पताल नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने तथा लाखौँ रुपियाँ ऋण काढेर हेलिकोप्टरमा बिरामी अस्पताल लैजानुपर्ने अवस्था हट्ने बताइएको छ। अस्पताल निर्माणसँगै व्यवस्थापन र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ। अस्पताल निर्माणका लागि मोहन राई, पविमाया राई, भीमबहादुर राई, ललितबहादुर राई, जोरमान राई, हरिसिंह राई, सौरभ किराँती र हेमन्तकुमार राईले साढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो।