• १३ साउन २०८१, आइतबार

पाहुना आकर्षित गर्दै होमस्टे

blog

सिराज खान 

नेपालगञ्ज, असोज २ गते । बाँकेका गाउँबस्तीमा सञ्चालित होमस्टे (घरबास)ले आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेका छन् । 

शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले फरकपन दिने गरेकाले यहाँका होमस्टेमा पाहुना आकर्षित भएका हुन् । पाहुना बढ्न थालेसँगै होमस्टेका सङ्ख्या पनि बढिरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । 

उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा पाहुनाको चहलपहल बढेको छ । 

पछिल्लो समय भारतीय पर्यटकसमेत बढ्न थालेपछि यहाँ होमस्टेको स्ख्या र सुविधा थपिने क्रम बढेको अध्यक्ष चौधरीले बताउनुभयो । 

गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रमा पनि हाल आएर होमस्टे विस्तार भएका छन् । च्यामामा करिब एक करोड रुपियाँको लगानीमा एउटा सुविधा सम्पन्न होमस्टे सञ्चालनमा आएको छ ।  २०७० मा सुरु भएको गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रूपमा चिनिन्छ । 

बाँकेमा सञ्चालित होमस्टे आयआर्जनको आकर्षक माध्यम बनेको होमस्टेका सञ्चालक बताउँछन् । होमस्टेमा आउने पाहुनाका कारण आफूहरूको आम्दानीको स्रोत बढ्दै गएकाले जीवनमा परिवर्तन आएको र दिनचर्या पनि बदलिएको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार होमस्टेका सञ्चालक यज्ञबहादुर रानाले बताउनुभयो । 

होमस्टे व्यवसायले थारू महिलाको आर्थिक सामाजिक सशक्तीकरणसमेत गरेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको राप्तीसोनारी गाउँपालिका–८, नयाँगाउँ होमस्टेकी शोभी थारूले बताउनुभयो । 

बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । जन्मदिन उत्सवलगायतका सानातिना कार्यक्रमदेखि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका बैठक र कार्यक्रम पनि अहिले होमस्टेमा हुने गरेका छन् । 

जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड रुपियाँभन्दा बढी आम्दानी हुने गरेको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । 

उहाँका अनुसार होमस्टेमा आउने पाहुनालाई बाँके निकुञ्जका मध्यवर्ती क्षेत्रमा जिप सफारी, हात्ती सफारी, जङ्गल पदयात्रा, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, ¥याफ्टिङलगायतका प्याकेजले बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुँदै गएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै मध्यवर्ती क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दै गएको हो । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयवासीको आकर्षण होमस्टेमा बढ्दै गएपछि होमस्टे सञ्चालक उत्साहित बनेका हुन् ।