काठमाडौं, साउन १५ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ ।
पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनीत गरिएको छ ।
सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टीको केन्द्रीय आईटी सेलको गठन, त्यसको प्रमुख चयन र सचिवसहित सूचना तथा संचार विभागलाई १८ सदस्यीय बिस्तार गर्ने निर्णय गरेको हो ।
आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आइटी मैत्री बनाउने उद्देश्यले महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन गरिएको विभाग प्रमुख जितेन्द्र यादवले बताउनु भयो ।
सामाजिक सञ्जालमा सक्रिय रहेका, आईटीको प्राविधिक पक्षमा दख्खल राख्ने, प्रचारप्रसार सामग्री तयार गर्न सक्ने, फोटो भिडियोको सम्पादनबारे जानकार भएका र समग्रमा चर्चित सामाजिक सञ्जालका प्लेटफर्महरुलाई पार्टीको हितमा प्रयोग गर्न जानेका सङ्गठित सदस्यहरुलाई समेटेर दक्ष आईटी टीम निर्माण गरिएको यादवले बताउनु भयो ।
विभागको सदस्यहरुमा प्रदीप घतान, मुसाहिद हुसेन, रसना यादव, ईमान राई, मनोजकुमार यादव, अमरेन्द्र यादव, रेणुराज सिंह र अजय वर्मालाई चयन गरिएको छ ।
त्यस्तै, अभरेन्द्र यादव, विनित यादव, गौतम यादव, ओम यादव (मनिष), प्रभात कुमार सिंह (पिन्टु), श्याम यादव, दिपु कापर र कमलेश यादव पनि विभागको सदस्यमा मनोनीत हुनु भएको छ ।