गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १३ गते । रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने देखिएको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर एङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबिच सोमबार भएको छलफलमा त्यस्तो जानकारी गराइएको हो ।
छलफलमा निर्माण कम्पनीका प्रोजेक्ट मेनेजरले उक्त स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य ठाउँ छनोट गर्नुपर्ने सुझाव दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाल सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयबाट सो विषयमा थप छलफल गरी समितिलाई प्राप्त निर्देशन बमोजिम जानकारी गराउने बताउनुभयो ।
गत असार २४ मा आएको बाढीले बन्दरगाहमा एक अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ । बाढीले सुक्खा बन्दरगाहबाहेक मितेरी पुलसहितका संरचनामा क्षति पु¥याउनुका साथै १४ जना चिनियाँ र आठ जना नेपालीको मृत्यु भएको थियो ।
सुक्खा बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदीतर्फ लगाएको पर्खाल चार सय मिटर भत्किएको, २५० वटा सवारीसाधन पार्किङका लागि बनाएको ढलान पूर्ण रूपमा क्षति भएको, दुई वटा गोदाममा माटो र ढुङ्गा भरिएको, दुई वटा लोडिङ/अनलोडिङ सेड क्षति भएको र ब्याचिङ प्लान्टसमेत गरी कुल एक अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको समितिले जनाएको छ । ८१ प्रतिशत सम्पन्न निर्माण कार्य भएको उक्त सुक्खा बन्दरगाहमा निर्माण भएका संरचनामा ५५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ ।
सुक्खा बन्दरगाह परिसरमा निर्माण भएका संरचनामध्ये प्रशासनिक भवन मात्र ठिक अवस्थामा रहेको समितिले जनाएको छ । चीन सरकारको दुई अर्ब १६ करोड रुपियाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माणाधीन थियो ।