• १३ साउन २०८२, मङ्गलबार

मधेस प्रदेश सरकारद्वारा घरधुरी र नागरिक बिमा कार्यक्रम सुरु

blog

जनकपुर, साउन १२ गते । मधेस प्रदेश सरकारले घरधुरी र नागरिक बिमा कार्यक्रम यही साउन १ गतेदेखि लागू गरेको छ । सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित सो कार्यक्रम सुरु गरिएको हो ।

पहिलो चरणमा प्रदेशका एक लाख घरधुरी र छ हजार ६०० नागरिक बिमाको दायरामा ल्याइएको छ । यस कार्यक्रमअन्तर्गत करिब रु ५९ अर्ब १० करोड बराबरको बिमा सुरक्षा व्यवस्था गरिएको प्रदेश सरकारले जनाएको छ । 

मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारद्वारा अगाडि सारिएको यो बिमा योजना आम नागरिक र सीमान्तकृत वर्गलाई प्राकृतिक विपद्, दुर्घटना तथा आकस्मिक मृत्युजस्ता घटनाबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले लागू गरिएको हो ।

घरधुरी बिमाअन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधीहुरी अन्य आपत्कालीन घटनामा हुने क्षतिको क्षतिपूर्ति दिइनेछ । नागरिक बिमा रु १० लाखसम्मको गरिएको छभने घरधुरी बिमा रु पाँच लाखसम्मको गरिएको छ । नागरिक बिमाअन्तर्गत आकस्मिक मृत्यु, शारीरिक अपाङ्गता, दुर्घटनाजन्य घाइते समेत समेटिएको छ ।

बिमा दाबीका लागि साक्षीसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय पालिकाको सिफारिस र प्रदेशको नागरिक भएको प्रमाण आवश्यक पर्नेछ । यसरी पारदर्शी र सहज कार्यविधिमार्फत पीडितले राहतप्राप्त गर्न सक्ने सरकारको दाबी छ ।

मधेस प्रदेशले पहिलोपटक व्यापक बिमा कार्यक्रम लागू गरेकाले यसबाट दिगो सामाजिक सुरक्षा प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।